हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–३, सिद्धकालीस्थित प्रजा आधारभूत विद्यालयमा अध्ययनरत् सिमान्तकृत विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको छ । शुक्रबार हिमराइटसको आयोजना तथा कोर इन्टरनेश्नलको आर्थिक सहयोगमा सिमान्तकृत २७ जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको हो ।
दाल, चामल, तेल, बेसार, नुन लगायत खाद्यान्न सहयोग गरिएको प्रजा आधारभूत विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारले जानकारी दिनुभयो । ४ महिनालाई पुग्ने गरी प्रतिविद्यार्थी २ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएकोे छ । प्रधानाध्यापक सुनार भन्नुहुन्छ, “यसले विद्यालय बाहिर रहेका विद्यार्थीलाई नियमित विद्यालय आउने वातावरण निर्माण गरेको छ । बैठकमा अनुपस्थित हुने अभिभावक समेत विद्यालय आउने गरेका छन् ।”
मनहरी गाउँपालिका–३ का वडासदस्य हीरा बहादुर प्रजाको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चेपाङको सभाध्यक्षमा खाद्यान्न हस्तान्तरण कार्यक्रम भएको हो । अध्यक्ष चेपाङले शिक्षाबाट बालबालिका बञ्चित नहोस् भन्ने उद्देश्यले २०७४ सालदेखि सिमान्तकृत समुदायका विद्यार्थीलाई सहयोग गर्दै आइरहेको बताउनुभयो । जसले गुणस्तरीय शिक्षालाई उकास्न सहयोग पुग्ने उहाँको भनाइ छ । हिमराइटस नेपालका कार्यक्रम संयोजक कुमारी वाईबाले विद्यार्थीलाई खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । प्रजा आधारभूत विद्यालयमा ३ सय २९ जना विद्यार्थी अध्ययनरत् छन् ।