हेटौंडाः हेटौंडा सामुदायिक आँखा अस्पतालमा हप्तामा ४ दिन शल्यक्रिया हुने गरेको छ । अस्पतालमा शुक्रबार र आइतबारबाहेक अन्य ४ दिन शल्यक्रिया हुने गरेको अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले बताउनुभयो ।
पुस महिनादेखि जेठ महिनासम्म ८ हजारले निःशुल्क शिविरमा आँखा जाँच गराएका छन् भने ४ सय जनाले निःशुल्क शल्यक्रिया गरेका हुन् । आँखा अस्पतालमा पहिलाभन्दा बिरामीको संख्या बढ्दो क्रममा देखिएको छ । अस्पताल पुरानो भएर, सबैले चिनेर र अस्पतालप्रति विश्वास गरेर बिरामीको संख्या बढेको श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा मोतीबिन्दुको बिरामी धेरै आउन थालेका हुन् ।
आँखा जाँच गराउन धेरै वृद्धवृद्धा मोतीबिन्दुको समस्या भएर आउने गरेका छन् भने बच्चाहरु दृष्टिदोष र टाढाको नदेख्ने समस्याले आउने गरेका छन् । आँखा अस्पतालमा दैनिक औसत ३ सय ५० जना बिरामी आउने गरेको व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा ४० वर्ष उमेर समूहमाथिका बिरामी धेरै आउने उहाँको भनाइ छ । जाडोमा भन्दा गर्मी महिनामा बिरामी धेरै आउने बताइएको छ । गर्मीमा आँखाको एलर्जी हुने कारण धेरै बिरामी आउने गरेको श्रेष्ठले बताउनुभयो ।
उद्योगमा काम गर्ने, बारीमा काम गर्दा केही समस्या भएर इमर्जेन्सीमा बिरामी आउने गरेको श्रेष्ठको भनाइ छ । अस्पतालमा मोतीबिन्दुका साथै आँखाको पर्दा च्यातिएको, परेला ढाकेको, मासु पलाएको आदि शल्यक्रिया हुन्छ । आँखा जचाउन मकवानपुरसहित बारा, पर्सा, रौतहट, सिन्धुली तथा सर्लाही जिल्लाबाट बिरामी आउने श्रेष्ठले बताउनुभयो । अस्पतालमा ३ जना विशेषज्ञ डाक्टरसहित ५५ जना कार्यरत रहेको श्रेष्ठले बताउनुभयो ।
अस्पतालले गरेको आँखा शिविरले धेरैले दृष्टि पाएका छन् । शिविर बारा, पर्सा र रौतहटमा धेरै हुने गरेको छ । विभिन्न ठाउँमा गई आँखा नदेख्ने, आँखा जचाउन नसक्नेलाइ निःशुल्क जाँच गरी सुविधा दिएको र शल्यक्रिया गर्नुपर्नेलाई अस्पतालमा ल्र्याइ सेवा दिने गरेको श्रेष्ठले जानकारी दिनुभयो ।