असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाइन्छ । आज नेपालभर विभिन्न कार्यक्रम गरेर २० औं राष्ट्रिय धान दिवस मनाइँदैछ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधिः धान उत्पादनमा वृद्धि‘ भन्ने मुल नाराका साथ आज राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई परम्परागतरुपमा रोपाईं महोत्सवका रुपमा पनि लिने गरिएको छ । असार १५ मा दही–च्यूरा खाने दिनको रुपमा पनि मनाइने गरिन्छ । सरकारले २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने परम्परा सुरु गरेको हो । नेपालसहित धान खेती गर्ने विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालमा २०६१ सालबाट धान दिवस मनाउन थालिएको हो । धान दिवसका दिन विभिन्न जिल्लाका सरकारी निकाय तथा किसानहरु रोपाइँजात्रा मनाउने तयारीमा छन् । तर, यसवर्ष देशका धेरै भागमा पर्याप्त पानी नपरेका कारण धान रोपाईं गर्न किसानलाई समस्या भइरहेको छ । लामो खडेरीले कृषि बालीमा असर परेको अवस्थामा धान रोप्ने बेलामा पनि पर्याप्त पानी नपर्दा किसाको चिन्ता बढेको छ । अर्कोतिर धान खेतीका लागि आवश्यक रासायनिक मलको अभाव उस्तै छ ।

नेपाललाई कृषिप्रधान देश भन्ने गरिन्छ । यहाँका करिब ६० प्रतिशत मानिस कृषिमा आश्रित रहेको तथ्यांक पाइन्छ । कृषिप्रधान देशमा कृषि उत्पादनको अवस्था भने दयनीय छ । कृषियोग्य भूमि घट्दै गएको छ भने खाद्यान्नलगायत कृषि उत्पादनको आयात बढ्दो छ । जलस्रोतमा दोस्रो धनी देश भनिने गरे पनि खेतीयोग्य जमिनमध्ये आधामा पनि सिंचाई सुविधा पुग्न सकेको छैन । कृषि क्षेत्रमा काम गर्ने श्रमिकको अभाव रहेको छ । उन्नत मल–विउको कमीजस्ता कारण धानलगायत अन्य खाद्यान्न उत्पादनमा कमी हुँदै गएको छ । मुख्य खाद्यबालीको रुपमा देशैभर तराई तथा पहाडी क्षेत्रमा धान खेती गरिन्छ । तर, मुलुकको आवश्यकताअनुसारको धान उत्पादन हुन सकिरहेको छैन । नेपालीलाई आफैंले उत्पादन गरेको धानले वर्षभरि भात खान पनि पुग्दैन । अनि विदेशबाट अरबौं रुपियाँको धान, चामल तथा अन्य कृषि उत्पादन आयात गर्नुपर्छ । कृषिप्रधान देश कृषिमै चरम परनिर्भर बन्दै जाँदा पनि तीन तहको सरकारले कृषि क्षेत्रको विकासमा उल्लेख्य काम गर्न सकेको छैन ।

मुलुकको कुल गार्हस्थ उत्पादनमा ३० प्रतिशत हाराहारी योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो अर्थ राख्छ । किनकि कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको हिस्सा निकै बढी रहेको छ । हाल नेपालमा करिब १५ लाख हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । नेपालका मनाङ र मुस्ताङबाहेक अन्य सबै जिल्लामा धानखेती हुने गरेको छ । नेपालमा ३ हजार मिटर उचाइसम्म धान खेती हुने गरेको छ । नेपालको कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुनमै भर पर्नुपर्ने स्थिति छ । धान उत्पादन कम हुनुको अर्को कारण खेतीयोग्य जमिन ‘प्लटिङ’ हुँदै जानु र समयमा मनसुनी वर्षा नहुनु हो । हाम्रो कृषि परम्परागत रहेको र नयाँ प्रविधिको प्रयोग नभएकाले आवश्यकताअनुसारको धान उत्पादन हुन सकेको छैन ।

सबैप्रकारका कृषि उत्पादन हुनसक्ने हावापानी रहेको मुलुकमा कृषि उत्पादन घट्दै जानु राम्रो संकेत होइन । सबै कृषिउपजमा आत्मनिर्भर हुन नसकेपनि अत्यावश्यक कृषि उत्पादनमा आत्मनिर्भर बन्न सकेमा आयात कम गर्न सकिन्छ । अर्कोतर्फ खाद्यान्न भनेको धानमात्र हो भन्ने आम नेपालीको मानसिकतामा परिवर्तन गरी सबै प्रकारको खाद्यान्नको उपयोगमा जोड दिनु आवश्यक छ । वर्षेनि धानको उत्पादन कमी हुँदै गइरहँदा असार १५ लाई धान दिवस मनाएर औपचारिकता पूरा गर्नुको खासै औचित्य देखिँदैन । बरु मुख्य–मुख्य बाली लगाउने महिनाको निश्चित दिनलाई दिवसको रुपमा मनाएर सबैप्रकारका बालीको विकास गराउने प्रयास हुनु आवश्यक छ । धान दिवस र रोपाइँ महोत्सव मनाइँदै गर्दा धान खेतीसम्बन्धी विशेष राष्ट्रिय नीति निर्माण गरी धानको उत्पादन बढाउन सरकारले ध्यान दिनु आवश्यक छ ।