हेटौँडाः हेटौँडामा जारी विजय युथ गोल्डकपको फाइनल खेल आज शुक्रबार हुँदैछ । विजय युथ गोल्डकपको उपाधिका लागि आयोजक टिम एफसी विजय युथ र पदमपोखरी युनाइटेड भिड्दैछन् । फाइनल खेल हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा हुनेछ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पदमपोखरीले हेटौँडा फुटबल एकेडेमीलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । पदमपोखरीको तर्फबाट दिपेश आले मगरले पहिलो हाफको ३५ औ मिनेटमा र दोस्रो हाफको ३४ औं मिनेटमा निर्णायक गोल गरेर टिमलाई फाइनलमा पु¥याएका थिए ।
दोस्रो सेमिफाइनल खेल आयोजक टिम र चाइना पब्लिकबीच भएको थियो । बुधबार समय अभावका कारण स्थगित भएको खेलमा आयोजक टिमले चाइना पब्लिकलाई २–० गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । आयोजक टिमको तर्फबाट बुधबार पहिलो हाफको १६ औं मिनेटमा मुसाले गोल गरेका थिए । त्यस्तै, बिहीबार मार्टिनले ८७ औं मिनेटमा निर्णायक गोल गर्दै टिमलाई विजयी गराएका थिए ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा, नगद १० हजार, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा जम्मा १६ वटा टिमको सहभागिता रहेको थियो ।