हेटौंडाः हेटौंडा अस्पताललाई करिब १ करोड रुपैयाँ बराबरको इको कार्डियो मेशिन हस्तान्तरण गरिने भएको छ । रोटरी क्लब अफ मकवानपुरको समन्वयमा मुटुरोगको परीक्षणका लागि आवश्यक इको कार्डियो मेशिन हस्तान्तरण गर्न लागिएको हो ।

रोटरी क्लब अफ मकवानपुरले पत्रकार सम्मेलन गरी आज बिहीबार सामान हस्तारण गर्ने जानकारी गराएको छ । कार्यक्रममा क्लब अध्यक्ष कृष्णबहादुर कार्की, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष राजेश प्रसाई, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा, वरिष्ठ पत्रकार प्रताप बिष्टको उपस्थिति थियो ।

रोटरी क्लब अफ मकवानपुरले पछिलो समयमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको क्लब अध्यक्ष कार्कीले जानकारी दिनुभयो । हेटौंडाको स्वास्थ्य क्षेत्रको सुधार गर्ने उद्देश्यसाथ क्लबले काम गरिरहेको उहाँले बताउनुभयो । हेटौंडा अस्पतालको सेवा राम्रो बनाउन आवश्यक सामग्री उपलब्ध गराउन लागिएको उहाँको भनाइ छ । यसपटक अस्पताललाई अति आवश्यक रहेको मुटुरोगसम्बन्धी समस्या भएका बिरामीको उपचारमा प्रयोग हुने सामग्री सहयोग गरिने कार्कीले बताउनुभयो ।

रोटरी क्लब अफ मकवानपुर, हेटौंडा उपमहानगरपालिका तथा अन्य संस्थाहरुको सहयोगमा मुटुसम्बन्धी स्वास्थ्य समस्या भएकाको उपचारका लागि आवश्यक ‘इको कार्डियो मेशिन’ सहित स्वास्थ्य सामग्री हस्तारण गरिने बताइएको छ । हेटौंडा अस्पताललाई हस्तान्तरण गरिने मेशिनको मूल्य ८८ लाख ६० हजार रुपैयाँ रहेको कार्कीले जानकारी दिनुभयो ।

हृदयरोगको उपचारका लागि रोटरी क्लब अफ मकवानपुरसँग एक वर्षदेखि छलफल हुँदै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सापकोटाले जानकारी दिनुभयो । इको कार्डियो मेशिन उपलब्ध भएपछि मुटुरोगीको उपचार सहज हुने भए पनि मुटुरोग विशेषज्ञ डाक्टरको अभाव रहेको उहाँको भनाइ छ । तत्कालका लागि अस्पतालले भरतपुर अस्पतालसँग सम्झौता गरी २ हप्तामा १ पटक मुटुरोग विशेषज्ञ ल्याएर सेवा प्रदान गर्ने डा. सापकोटाले जानकारी दिनुभयो । अस्पतालमा चाँडै नै एमआरआइ मेशिनको व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

अस्पतालमा नर्सिङको विद्यार्थी बोलाएर कार्यक्रम गर्ने र नर्सिङ पठाइ पनि सुरु गर्ने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष प्रसाइले बताउनुभयो । अस्पतालमा एमडीको कार्यक्रम सुरु गर्न आवश्यक प्रक्रिया अघि बढाइने भएको छ । प्रसाइका अनुसार अस्पतालमा जनशक्तिको अभाव रहेको र सेवाग्राहीको विश्वासका कारण सेवाग्राही वृद्धि भइरहेको छ ।

अहिलेको समयमा मुटुको समस्या भएका बिरामी अन्त जानु नपर्ने अवस्था हेटौंडा अस्पतालले मिलाएको पत्रकार विष्टले बताउनुभयो । हेटौंडा अस्पतालमा धेरै थप स्वास्थ्य सेवा आइसकेको भन्दै विष्टले विरामीलाई रिफरको गर्नुपर्ने अवस्था अहिले नभएको बताउनुभयो ।