हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा ६ महिनाभित्र मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । हेटौडा अस्पतालले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेल्थपाटी डटकमले आयोजना गरेको अंगदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेसु सापकोटाले उक्त जानकारी दिनुभएको हो । उहाँले प्रत्यारोपण सेवा सुरु गर्न अहिले अस्पतालमा पूर्वाधार निर्माणको साथै आवश्यक उपकरण खरिद गरी प्रत्यारोपण सेवा विस्तारको जग बसाउने काम भएको बताउनुभयो ।
चालु आर्थिक वर्षको प्रदेश सरकारले हेटौंडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदानस्वरुप ९ करोड रुपैयाँ दिएको थियो । सो रकम उपकरण खरिद र पूर्वाधार विकासमा खर्च गरी प्रत्यारोपण सेवा सुरु गर्न तयारी अवस्थामा रहेको मेसु सापकोटाको भनाइ छ । उहाँले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा ४ करोड रुपैयाँ विनियोजन भएको बताउनुभयो ।
३ वर्ष अघिदेखि हेटौंडा अस्पतालमा डाइलाइसिस सेवा सुरु गरेको बताउँदै उहाँले अहिले पनि महिनामा करिब ५० जना मिर्गाैलाका बिरामी डाइलाइसिसका लागि पालो कुर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । डाइलाइसिसको बिरामीको तुलनामा अझै १५ वटा डाइलाइसिस मेशिन थप गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।
सोही कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्रा.डा. विश्वराज जोशीले हेटौंडामा प्रत्यारोपण सेवा सुरुमात्र होइन, त्यसलाई निरन्तरता दिने गरी काम भइरहेको बताउनुभयो । उहाँले प्रत्यारोपण सेवालाई निरन्तरता दिन पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनको विषयमा तयारी भइरहेको जानकारी दिनुभयो । हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहने गरी सञ्चालन गर्ने निर्णय भइसकेको छ ।
कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएकी हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाले अंगदानको विषयमा जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । खेर जाने अंगको दान गर्न सके अन्य व्यक्तिले पुनर्जीवन पाउने बताउँदै आफू अंगदान गर्नुपर्छ भन्ने चेतनामूलक कार्यक्रममा आफूले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । आफूले सधैं स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै मेयर लामाले हेटौंडालाई स्वास्थ्यको हब बनाउन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अंगदानबारे जनचेतना फैलाउनु नै अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । अंगदान सम्बन्धमा बिरामी तथा परिवारलाई ‘कन्भिन्स’ गराउने काममा सबैको भूमिका बराबर रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक बामदेव गौतमले दुर्घटनाका केसमा आफूहरुले जतिसक्दो छिटो घाइतेलाई अस्पताल पुर्याउनेतर्फ लाग्ने गरेको बताउनुभयो । सडक दुर्घटनामा घाइते भएका व्यक्तिहरुमा मस्तिष्क मृत्युको जोखिम उच्च रहने सन्दर्भमा उहाँले जतिसक्दो छिटो घाइतेलाई अस्पताल पुर्याइने बताउनुभएको हो ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकारी दीपक तिवारीले बागमती प्रदेशमा विशिष्टीकृत सेवातर्फ केन्द्रित रहनेगरी काम भइरहेको बताउनुभयो । उहाँले बागमती प्रदेशको १३ वटै जिल्ला अस्पतालमा ब्रेनडेथको कार्यक्रम लागू गर्न सकिने बताउनुभयो । हेटौंडा र भक्तपुर अस्पताललाई २ सय बेडको बनाउने तयारी गरी जनशक्ति दरबन्दी स्वीकृतिका लागि सरकारलाई पठाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र नेफ्रोलोजिष्ट डा. सुरेश महर्जनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक डा. श्रेष्ठले नेपालमा ब्रेनडेथ भएका व्यक्तिहरुको अंग प्रयोग गर्नसके हजारौंले पुनर्जीवन पाउने बताउनुभयो ।
उहाँले नेपालमा वार्षिक १ हजार जनाको बे्रनडेथ हुने गरेको अनुमानित तथ्यांक रहेको बताउँदै वार्षिक ८ हजार जनाको मिर्गाैला र कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था रहेको बताउनुभयो । तर, जनचेतनाको कमीका कारण खेर जाने ८ हजार अंगको उपयोग गर्न नसकिएको र हालसम्म नेपालमा जम्मा ५ ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग भएको बताउनुभयो ।
अंगदानबारे खासै नबुझेकै कारण ब्रेनडेथ भएका व्यक्तिको अंगदानको सवाल निकै जटिल र चुनौतीपूर्ण बनेको बताउनुभयो । उहाँले हालसम्म केन्द्रमा १ हजार ७८ जनाको मिर्गाैला प्रत्यारोपण भएको र सबै प्रत्यारोपण शतप्रतिशत सफल भएको बताउनुभयो । सरकारले मिर्गाैला प्रत्यारोपण र डाइलाइसिस दुबै सेवा निःशुल्क दिँदै आएको छ ।
बिरामीको जीवन गुणस्तर राख्न डाइलाइसिसभन्दा प्रत्यारोपण नै उत्तम विकल्प रहेको भएपनि अंग अभावमा यसो हुन नसकिरहेको उहाँले बताउनुभयो । प्रत्यारोपणलाई बढावा दिन अंगदान अभियानमा सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तारका लागि जनशक्ति, पूर्वाधार, उपकरण विकासको काममा केन्द्र लागिरहेको बताउनुभयो ।
कार्यक्रममा नेफ्रोलोजिष्ट डा. सुरेश साहले विदेशमा ८० प्रतिशत अंग प्रत्यारोपण मस्तिष्कमृत्यु भएका व्यक्तिहरुको अंगबाट हुने गरेको बताउनुभयो । जीवित व्यक्तिको शरीरबाट अंग झिकेर प्रत्यारोपण गर्नुभन्दा मस्तिष्क मृत्यु भएकाहरुको अंग प्रत्यारोपण गर्दा जोखिम कम हुने भएकाले पनि मस्तिष्क मृत्यु भएकाहरुको अंग उपयोग गर्नेतर्फ जोड दिनुभयो । ब्रेनडेथ भएका व्यक्तिको अंग अर्काे जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ भन्ने कुरा स्वास्थ्यकर्मीहरुलाई समेत थाहा नभएको अवस्था हालको रहेको उहाँले बताउनुभयो ।
नेपालमा वर्षेनि ३ हजार जनाको मिर्गाैला र १ हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांक रहेको छ । मस्तिष्क मृत्यु भएका एक व्यक्तिको ८ वटा अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिने भएपनि नेपालमा कलेजो र मिर्गाैला प्रत्यारोपणमात्रै भइरहेको छ ।