हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थायी ठेगाना भई हाल काठमाडौं बस्दै आएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा–३ की ५४ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार साँझ सवा ८ बजेको समयमा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हेटौंडाकी महिलासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडास्थित प्रयोगशालाले हेटौंडाबाट स्याम्पल काठमाडौं नपठाएकोले उक्त महिलाको स्वाब काठमाडौंमै संकलन गरी परीक्षण भएको स्पष्ट हुन्छ । काठमाडौंमै परीक्षण हुनु भनेको ती महिला काठमाडौंमै अस्थायी रुपमा बस्दै आएको हुन सक्ने अनुमान गर्न सकिन्छ । आज साँझ थप ९ जना नयाँ संक्रमितको सख्यासँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार एकदिनमै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमित मध्ये ७० जना निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ ।