Home मुख्य समाचार हेटौंडा–३ घर भई काठमाडौं बस्दै आएकी महिलामा कोरोना संक्रमण

हेटौंडा–३ घर भई काठमाडौं बस्दै आएकी महिलामा कोरोना संक्रमण

हिजो शुक्रबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति । जसमा संक्रमित महिलाको ठेगाना हेटौंडा–३ उल्लेख गरिएको छ ।

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थायी ठेगाना भई हाल काठमाडौं बस्दै आएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा–३ की ५४ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार साँझ सवा ८ बजेको समयमा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हेटौंडाकी महिलासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडास्थित प्रयोगशालाले हेटौंडाबाट स्याम्पल काठमाडौं नपठाएकोले उक्त महिलाको स्वाब काठमाडौंमै संकलन गरी परीक्षण भएको स्पष्ट हुन्छ । काठमाडौंमै परीक्षण हुनु भनेको ती महिला काठमाडौंमै अस्थायी रुपमा बस्दै आएको हुन सक्ने अनुमान गर्न सकिन्छ । आज साँझ थप ९ जना नयाँ संक्रमितको सख्यासँगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार एकदिनमै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमित मध्ये ७० जना निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ ।

Exit mobile version