हेटौंडाः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शुक्रबार साँझ सवा ८ बजे सार्वजनिक गरेको नयाँ ९ जना संक्रमितको विवरणमा हेटौंडा–३ की ५४ वर्षीया महिला भनिएकोमा उक्त महिलाको वास्तविक ठेगाना हेटौंडा–४ भएको पुष्टि भएको छ । मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको संक्रमित महिला गत सोमबार हेटौंडा अस्पतालबाट रेफर भएकी थिइन् । मन्त्रालयले काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलालाई कोरोना संक्रमित भएको पुष्टि भएको हो ।
हेटौंडा अस्पताल श्रोतका अनुसार पेट फुलेर स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकी महिलाको मुटुको चाल कमजोर पाइएपछि काठमाडौंस्थित शिक्षण अस्पताल रेफर गरिएको थियो । हेटौंडा अस्पतालले रेफर गरिएकी विरामी नै कोरोना संक्रमित भएको भनी आज शनिबार बिहान मात्रै पुष्टि भएपछि उपचारमा संलग्न भएका चिकित्सकहरुलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिनुभएको छ ।
गत सोमबार दिउँसो १२ बजेदेखि करिब ३ बजेसम्म हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा राखेर उपचार गरेर ती महिलालाई काठमाडौं रेफर गरिएको अस्पताल श्रोतले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कोरोना संक्रमित महिलाको वास्तविक ठेगाना र हेटौंडा अस्पतालबाटै रेफर भएको भन्ने यकिन भएपछि स्वास्थ्यको प्रोटोकलअनुसार आवश्यक कार्य सुरु गरिएको जानकारी दिनुभयो । संक्रमित महिलाको स्वास्थ्य अवस्था भने गम्भीर रहेको बताइएको छ ।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेश मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना भाइरस परीक्षणका लागि हिजो शुक्रबार नै स्वाब संकलन गर्ने क्रममा हेटौंडा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल विकास समितिका अध्यक्षको स्वाब संकलन गरिएको छ । आज कोरोना परीक्षणको रिपोर्ट समेत आउनेछ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाले संक्रमित भनिएकी महिलाको ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङको काम सुरु भइसकेको जानकारी दिनुभयो ।