हेटौँडाः बागमती प्रदेश सरकारले हेटौँडा अस्पतालको सेवा प्रभावित बनाउने तथा अति महत्वपूर्ण स्वास्थ्य संस्थालाई तहसनहस बनाउने उद्देश्यले काम गरिरहेको भन्दै नेकपा एमाले मकवानपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्नुहुँदै एमाले मकवानपुरका अध्यक्ष एवम् प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले प्रदेश सरकारले नियमित रुपमा सञ्चालन भइरहेको र प्रदेशको गौरवको रुपमा विकास हुँदै गएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई उपलब्ध गराउनुपर्ने तलब सुविधा कटौती गर्न खोजको उल्लेख गर्नुभएको छ ।
२ सय १४ भन्दा बढी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जागिरबाटै निकाल्ने र बजेट कटौती गरेर अस्पतालको सेवा प्रभावित बनाउने काम गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैको अभिभावक बन्नु पर्ने सरकार नै नागरिकहरुको स्वास्थ्यमा खेलबाड गरिरहेको एमाले मकवानपुरको आरोप छ । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग नगर्न अदालतबाट भएको आदेशको पालना गर्दै तथा सरकार आफैँले बनाएको कानूनको समेत उल्लंघन नगर्न भनिएको छ । बागमती प्रदेश सरकारले गत शुुक्रबार आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो ।