हेटौँडाः हेटौँडा उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयको सहयोग र हर्नामाडी बाल सञ्जालको आयोजनामा आइतबार बालश्रम र बालविवाहविरुद्ध प्रभातफेरि कार्यक्रम भएको छ । बालमैत्री वडा सहजकर्ता अनिश मंग्रातीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
बालश्रम अन्त्य गरौं, बालविवाह अन्त्य गरौं, सुनिश्चित बालअधिकार समृद्ध हेटौंडाको आधार, बालबालिकामा गरेको लगानी ल्याउँछ सुनौलो बिहानी भन्दै प्रभातफेरिमा सहभागी बालबालिकाले प्लेकार्डहरु बोकेका थिए । बालश्रम र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले बाल सञ्जालद्वारा कार्यक्रम भएको हो । उक्त वडाभित्रका ६ वटा विद्यालय, टोल विकास संस्था, स्वास्थ्य संस्था र वडाका जनप्रतिनिधिहरुसमेतको सहभागितामा वडाको सिमाना भोर्ले चोकदेखि फुर्केचौरसम्म प्रभातफेरि गरिएको छ ।
हेटौँडा उपमहानगरपालिकाले आउँदो मंसिरभित्र बालमैत्री स्थानीय शासन घोषणाको तयारी गरिरहेको हुनाले सोही अभियानलाई सहयोग पुगोस् भन्ने उद्देश्यले प्रभातफेरि आयोजना गरिएको बताइएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, टोल विकास संस्थाका अध्यक्ष, विद्यार्थीले विद्यालय र टोललाई बालमैत्री बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । वडाबाट गर्नुपर्ने बालमैत्रीसम्बन्धी सम्पूर्ण कार्यक्रमहरुलाई सहयोग गर्ने वडा सदस्य एवम् बालमैत्री सम्पर्कव्यक्ति योगराज खतिवडाले बताउनुभयो ।