मकवानपुर जिल्ला खेलकुद क्षेत्रमा उर्वर क्षेत्र हो । पूर्वाधार, खेल गतिविधि, उपलब्ध जनशक्ति, प्रोत्साहनको अभावका बाबजुद सबैखाले खेलमा मकवानपुरका खेलाडीको उल्लेख्य सहभागिता र सकारात्मक नतीजा हासिल हुँदै आएको छ । हेटौँडामै सम्पन्न नोभिस बक्सिङ र प्रदेश खेलकुदमा मकवानपुरका बक्सिङ खेलाडीको प्रदर्शन राम्रो रह्यो । प्रतियोगिताको आयोजना भइरहनु र नतीजा पनि सन्तोषजन आउनुले मकवानपुरमा बक्सिङ खेल सहभागी भई नियमित प्रशिक्षणमा सहभागी हुने खेलाडीको संख्या बढ्दो क्रममा छ । यसै सन्दर्भमा बक्सिङ खेलका प्रशिक्षक लालबहादुर पौडेलसँग समृद्ध समाज दैनिकका लागि रविन्द्र वाईबाले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः मकवानपुरमा बक्सिङ खेलको अवस्था के छ ?
पौडेलः मकवानपुरमा अहिले बक्सिङको क्षेत्र प्रगतितिर लागिरहेको छ । विगत एक दुई बर्ष कोभिडको कारणले गर्दा बक्सिङ लगायत सबै क्षेत्रमा प्रभाव पारेको थियो । तर हामीले त्यस समयमा पनि दुई चार जना खेलाडीलाई व्यवस्थापन गरी नियमित प्रशिक्षण गरेका थियौँ । अहिले त्यो महामारीको अवस्था सकिसकेपछि बक्सिङ क्षेत्र प्रगतिको बाटोतिर गइरहेको छ । विभिन्न क्षेत्रबाट खेलाडीहरु सहभागी हुन आएका छन् । पछिल्लो समय बक्सिङ खेलप्रति खेलाडीहरुको रुचि बढ्दो देखिन्छ ।
समाजः केही समय अगाडि सम्पन्न भएको प्रदेशस्तर र राष्ट्रियस्तरको बक्सिङ प्रतियोगितामा मकवानपुरको खेलाडीहरु कम सहभागिता हुनुको कारण के थियो ?
पौडेलः बक्सिङ खेलमा खेलाडीको फिटनेस लगायत विभिन्न कुराहरुको आँकलन गरी एउटा प्रशिक्षक वा बक्सिङ संघले उनीहरुलाई खेलमा सहभागिता गराउने वा नगराउने कुराको निर्धारण गर्दछ । त्यो समयमा हामीसँग २०–२५ जना खेलाडीहरु भएपनि बीचमा छाड्ने र आउने भएकाले उनीहरुले प्रशिक्षण नियमित लिन सकेनन् । त्यसकारण हामीले नियमितरुपमा प्रशिक्षण लिने खेलाडीहरुलाई मात्र उक्त प्रतियोगितामा सहभागी गराएका थियाँै । बक्सिङ खेल अलि बढी जोखिम खेल भएकाले खेलाडीको फिटनेस र सुरक्षामा बढी ध्यान दिनुपर्ने हुन्छ । त्यही भएर नै हामीले नियमित प्रशिक्षण लिएका र फिटनेस पुगेका खेलाडीलाई मात्र सहभागी गराएका थियौँ।
समाजः अहिले खेलाडीहरुको लागि प्रशिक्षण कसरी भइरहेको छ ?
पौडेलः अहिले नियमित प्रशिक्षण भइरहेको छ । खेलाडीहरु पनि प्रशिक्षणमा आइरहेका छन् । अब उनीहरुको लेभल बढाउनका लागि प्रशिक्षण हुँदै छ । अहिले प्रशिक्षणमा सहभागी खेलाडीहरुको संख्या बढ्दो छ र उनीहरु नियमित प्रशिक्षणमा पनि सहभागी हुँदै आएका छन् ।
समाजः मकवानपुर बक्सिङमा अहिले प्रमुख समस्याहरु के–के छन् ?
पौडेलः योभन्दा अगाडि मकवानपुर बक्सिङमा धेरै समस्या थिए । सामग्रीको अभाव, जिमहलको अभाव, मिटिङ बस्नका लागि अफिसको अभाव जस्ता समस्याहरु थिए । अहिले यी सम्पूर्ण समस्याहरुको व्यवस्थापन भइसकेको छ । अहिलेको प्रमुख समस्या भनेको खेलाडीहरुलाई कसरी नियमित प्रशिक्षण दिने, कसरी उनीहरुलाई हौसला दिई यो खेलमा टिकाउने र कसरी उनीहरुलाई राष्ट्रियस्तरको खेलमा गोल्डमेडल प्राप्त गर्ने र अन्तर्राष्ट्रियस्तरको खेलमा मेडल प्राप्त गर्न सक्ने बनाउने भन्ने हो ।
समाजः मकवानपुरमा बक्सिङ खेल विकासका लागि तपाईहरुको नीति कस्तो छ ?
पौडेलः समयसापेक्ष प्रविधिमा भएको विकास र प्रशिक्षण विधिमा भएको परिवर्तनहरुको मध्यनजर गरी त्यसैअनुसार हामीले पनि सामग्रीहरु र प्रशिक्षण विधिहरुमा व्यवस्थापन गरिरहेका छौं । बक्सिङ खेलमा कसरी खेलाडीहरुलाई आबद्ध गर्ने, खेलाडीलाई परेको समस्या समाधानका लागि, खेलाडीलाई प्रोत्साहन र पुरस्कृत गर्न विभिन्न अक्षयकोषहरु बनाई अघि बढ्दै छौँ । सबै समस्याहरुको व्यवस्थापन हुँदै गइरहेको छ र त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा योजनाहरु बनाउँदै छौँ ।
समाजः सम्बन्धित निकायसँग तपाईहरुको सम्बन्ध कस्तो रहेको छ ?
पौडेलः सक्रियताको हिसाबले बक्सिङ कमिटी सक्रिय नै भएकोले सम्बन्धित निकायहरुसँग हाम्रो सम्बन्ध राम्रै छ ।