हेटौंडाः कानुन व्यवसायीको पेसागत आचरण र ड्रेस कोडसम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम भएको छ । नेपाल कानुन व्यवसायी परिषद् कुपण्डोल, ललितपुरको आयोजना तथा उच्च अदालत बार एसोसिएसन मकवानपुर, हेटौंडा र मकवानपुर जिल्ला अदालत बार एसोसिएसनको सह–आयोजनामा शनिबार हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको हो ।

महान्यायाधीवक्ता एवम् नेपाल कानुन व्यवसायी परिषदका अध्यक्ष डा. दिनमणि पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल कानुन व्यवसायी परिषदका उपाध्यक्ष गोपालकृष्ण घिमिरे, नेपाल कानुन व्यवसायी परिषदका सदस्य डा. चन्द्रकान्त ज्ञवाली, बागमती प्रदेशका मुख्य न्यायाधीवक्ता ज्ञानेन्द्र नेपाल, सहन्यायाधीवक्ता ईश्वरीप्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल कानुन व्यवसायी परिषदका सदस्य डा. ज्ञवालीले आचारसंहिताको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कानुन व्यवसायीको पेसागत आचरण र ड्रेस कोड विषयमा छलफल भएको थियो । छलफलमा कानुन व्यवसायीहरुले कानुन व्यवसायमा विकृति फैलिँदै गएको बताएका थिए ।

कानुन व्यवसाय पेसा राम्रो भएको तर काम गर्ने मानिस राम्रो नहुनाले व्यवसायमा असर पुग्ने, कानुन व्यवसायीले ड्रेस कुन लगाउने भन्ने विषय उठान गरिएका थिए । कर्यक्रममा एक व्यवसायीले कानुन व्यवसायीको पीडामा काउन्सिल जिम्मेवारी नभएको समेत आरोप लगाएका थिए । पछिल्लो समयमा लेखापढी गर्ने र कानुन व्यवसायीको पोशाक एउटै लगाउने गरेकाले फरक हुनुपर्ने र कानुन व्यावसायीको फी तोक्नुपर्ने बताएका थिए ।

अर्का एक व्यवसायीले फौजदारी मुद्दामा प्रहरीदेखि सरकारी वकिलसम्म सेटिङ हुने गरेको आरोप लगाउँदै त्यस्ता कामको नियन्त्रण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा एक कोषको स्थापना गरी ५ लाखको बीमा गर्ने कार्यको थालनी हुने बताइएको छ ।

महान्यायाधीवक्ता पोखरेलले लेखापढी र कानुन व्यवसायीहरुकोे एउटै ड्रेस कोड नहुने स्पष्ट पार्नुभयो । फुलकोर्टले पारित गरेको कानुन सबैमा लाग्ने बताउँदै कोर्टमा अतिरञ्जित बहस हुने भएकाले त्यसो गर्न नहुने बताउनुभयो । कानुन व्यवसायीको बहस फी मुद्दाअनुसार हुने बताउँदै बहस फी व्यवसायी र क्लाइन्टको समन्वयमा हुने उहाँको भनाई थियो । बारले कानुन व्यवसायीको पद्धति सुधार गर्न आवश्यक महसुस गरी सुधार गर्न लागेकाले सबैको साथ आवश्यक हुने उहाँले बताउनुभयो ।