मुलुकका तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा युवाका सबाललाई निकै महत्वका साथ समावेश गर्ने गरेका छन् । हरेक वर्ष सरकारले नीति तथा कार्यक्रम बनाउँदा युवालाई रोजगारीसँग जोड्न कार्यक्रम घोषणा गर्दछन् । रोजगारी अवसरका सम्भाव्य क्षेत्र पहिचान गरेर व्यावसायिक सीप विकास गर्ने भन्दै नीति तथा कार्यक्रम बनाइन्छ । देशभित्रै व्यापक रोजगारीका अवसरहरु सिर्जना गरेर युवालाई रोजगारीका लागि विदेश जानुपर्ने स्थिति अन्त्य गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा हुने गर्दछन् । तर, सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेजस्तो सजिलै रोजगारीको अवसर सृजना हुन सकेको छैन । स्वदेशमा उपयुक्त रोजगारी तथा अवसरको अभावमा दैनिक हजारौं युवा विदेश गइरहेका छन् । देशभित्रै रोजगारीको अभावमा नेपाली युवा विदेशिनु परिरहेको वास्तविकतालाई सरकारले बुझ्न सकेको छैन । युवालाई रोजगारीसँगै नवप्रवर्तन र उत्पादनसँग जोड्न सरकारले विशेष कार्यक्रमहरु सञ्चालन गर्नु उचित हुनेछ ।

बागमती प्रदेश युवा परिषद्ले युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन युवा सम्मेलन गर्दैछ । युवालाई नवप्रवर्तन, उद्यमशीलता र व्यक्तित्व विकास गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । आगामी असार ११ र १२ गते हेटौंडामा प्रदेश युवा सम्मेलन हुने भएको हो । सबै क्षेत्रमा युवाहरुको सहभागिता सोचेअनुरुप नभइरहेको र देशमा युुवाहरु रित्तिँदै गइरहेको अवस्थामा सम्मेलन गर्न लागिएको बताइएको छ । प्रदेशभित्रका युवाहरुको सन्दर्भमा केही गरौं र नयाँ गरौं भन्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आयोजकको भनाई छ । प्रदेशका १३ जिल्लाबाट एक सय ५० युवाको सहभागिता सम्मेलनमा हुनेछ । सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायको युवाको प्रतिनिधित्व सम्मेलनमा हुने छ । युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने सम्मेलनमा २० देखि ३५ वर्ष उमेर समूहका युवाहरु सहभागी हुने जनाइएको छ । ख्यातिप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई श्रोतव्यक्तिको रुपमा सहभागी गराउने जनाइएको छ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोच, सूचना प्रविधि, सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिता, उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलता, सामाजिक सञ्जाललगायतका विषयमा अन्तरक्रिया हुनेछ ।

धेरै युवाहरु वैदेशिक रोजगारी र अध्ययनका नाममा विदेशिएको र स्वदेशमा रहेकाहरु पनि अधिकांश बेरोजगार रहेको सन्दर्भमा प्रदेश युवा परिषद्ले गर्न लागेको युवा सम्मेलन सान्दर्भिक देखिन्छ । स्वदेशमा रोजगारका थुप्रै अवसर भए त्यसको उपयोग हुन सकेको छैन । देशमा रहेका अधिकांश युवाहरु कुनै न कुनै राजनीतिक दलसँग आवद्ध हुने र राजनीतिक पहुँचका आधारमा पैसा कमाउन खोज्ने प्रवृत्ति बढ्दो छ । युवाको जोश र जाँगरलाई उत्पादन र स्वरोजगारसँग जोड्न सकिएको छैन । ठेक्कापट्टा, र अदृश्य व्यापार–व्यवसायबाटै आयआर्जन गर्नतर्फ युवाहरु अग्रसर बनिरहेका छन् । राजनीतिक पहुँचमा कतिपय युवाहरु गैरकानुनी काममा समेत संलग्न देखिन्छन् । आफू स्वरोजगार बन्ने र अरुलाई रोजगारी दिनेतर्फ युवाहरुको सोच र व्यवहार कमैमात्र पाइन्छ ।

स्वदेशमै आकर्षक रोजगारीका अवसरहरु सृजना गर्न सकेमा विदेशिने युवालाई रोक्न सकिन्छ । यसका लागि युवाहरु नै अग्रसर हुनु आवश्यक छ । विदेशबाट फर्किएका वा फर्कन चाहने युवालाई साथमा लिएर देशभित्रै उत्पादनमूलक काममा युवाको सहभागिता आवश्यक बनेको छ । यसका लागि युवाहरुलाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक छ । युवालाई देशभित्रै गरिखाने वातावरण सृजना गर्न सबै तहका सरकार गम्भीर बन्नुपर्छ । राजनीतिक पहुँचको आधारमा केही काम दिने परिपाटी अन्त्य गर्दै क्षमता र योग्यताका आधारमा युवालाई उत्पादनसँग जोड्न सरकारले उचित कार्यक्रम ल्याउनुपर्छ । प्रदेश युवा सम्मेलनले युवालाई नवप्रवर्तन र उद्यमशीलतातर्फ अग्रसर बनाउँदै उत्पादनसँग जोड्न सरकारलाई दबाव दिन सक्नुपर्छ ।