बालविवाह आजको ग्रामीण र सहरी दुवै समाजको समस्याको रुपमा रहेको छ । बालविवाहलाई निषेध गर्ने र नियन्त्रण गर्ने कानुन सरकारले ल्याएको छ । तर, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अहिले पनि नेपाली समाजमा बालविवाह नियमित र सामान्य जस्तै बनिरहेको छ । बालविवाह र यसका प्रभावका विषयमा माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामासँग समृद्ध समाज दैनिककी सुप्रभा शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः माइती नेपाल मकवानपुरको नियमित काम के हुन्छ ?
लामाः माइती नेपालले मकवानपुर जिल्लामा विगत लामो समयदेखि मानव बेचबिखन विरुद्ध, महिला हिंसा विरुद्ध र बालविवाह विरुद्धको क्षेत्रमा विभिन्न प्रकारका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । माइती नेपालले विशेषगरी मानव बेचविखनको क्षेत्रमा उद्दार, पूर्नस्थापना र कानुनी उपचार, सीपमूलक तालिम, सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको अवस्था छ ।
समाजः बालविवाह न्युनीकरणको क्षेत्रमा माइती नेपालले कस्तो कार्यहरु गरिरहेको छ ?
लामाः माइती नेपालले बालविवाहलाई न्युनीकरण गर्नुपर्छ भन्ने उद्देश्यले विभिन्न संघ, संस्थाहरुसँग समन्वय गरी यसका लागि विभिन्न प्रकारको सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । र बालविवाह हुन लागेको अवस्थामा त्यसलाई रोक्ने, सम्झाउने जस्ता कामहरु गर्दै आइरहेको छ ।
समाजः बालविवाह हुनुका कारण के देखिनुभयो ?
लामाः बालविवाह हुनुको प्रमुख कारण सामाजिक सञ्जालको दुरुपयोग देखिन्छ । त्यस्तै साथीको देखासिकीमा सानै उमेरमा केटा साथी बनाउने, भेट्ने र शिक्षा तथा चेतनाको कमीको कारणले पनि कहिलेकाँही अभिभावकले गाली गर्दा पनि भागेर सानै उमेर बिहे गरेको देखिन्छ ।
समाजः पछिल्लो समय माइती नेपालले कुन–कुन संघ, संस्थाहरुसँग समन्वय गरी बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रमहरु गरिरहेको छ ?
लामाः पछिल्लो समय माइती नेपालले मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्ध सञ्जाल, बालविवाह विरुद्ध फ्रन्टलाइनमा बसेर काम गर्दै आएको सिविन बालहेल्पलाइन नेपाल, अस्मिता नेपाल जस्ता संघसंस्थाहरुसँग समन्वय गरी कार्यहरु गर्दै आएको छ ।
समाजः मकवानपुरको राक्सिराङ गाउँपालिकालाई नै केन्द्रित बनाएर बढी कार्यक्रमहरु गर्नुको कारण के हो ?
लामाः राक्सिराङ एकदमै विकट ठाउँ र सीमान्तकृत वर्गका जनजातिहरुको बहुल्यता भएको गाउँपालिका भएकोले अस्मिता नेपाल लगायतका संस्थाहरुले राक्सिराङलाई केन्द्रबिन्दुमा राखेर कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस्तै त्यहाँका बालबालिकाहरु विद्यालय जानका लागि धेरै टाढा हिँड्नुपर्ने भएकोले प्राय बालबालिकाले पढाई छोडेर गलैँचा बुन्न, होटल रेष्टुरेन्टमा बालश्रम गर्न गएको देखिन्छ । त्यसपछि त्यस्ता बालबालिकाले २० वर्ष नपुगी विवाह गरेको र विवाह हुने उमेरमा डिभोर्स भएका घट्नाहरु प्रशस्तै देखिन्छ । त्यसकारण उनीहरुलाई बालविवाहको असरबारे चेतना दिनका लागि विभिन्न संस्थाहरुको प्राथमिकतामा राक्सिराङ गाउँपालिका पर्न गएको पर्छ ।
समाजः गाउँ क्षेत्र र सहरी क्षेत्रमा बालविवाहको अवस्थामा कत्तिको फरक देखिन्छ ?
लामाः गाउँ क्षेत्रमा अशिक्षा, चेतनाको अभाव र घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारणले बढी बालविवाह भएको देखिन्छ भने सहरी क्षेत्रमा सामाजिक सञ्जालको दुरुपयोग र देखासिकीले गर्दा नै बढी बालविवाह भइरहेको देखिन्छ ।
समाजः बालविवाहलाई न्यूनीकरण गर्नका लागि कुन कुन निकायको महत्वपूर्ण भुमिका रहन्छ ?
लामाः बालविवाह न्यूनीकरणका लागि प्रमुख भूमिका अभिभावकको रहन्छ । साथसाथै समुदाय वा समाज, स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार र विभिन्न संघसंस्थाको महत्वपूर्ण भूमिका रहन्छ । अर्काे कुरा सरकारले बालविवाह गर्नेलाई जन्मदर्ता, विवाहदर्ता लगायत विभिन्न सेवासुविधाबाट बञ्चित गर्दै आएको छ । तर मेरो विचारमा यसको साथसाथै बालविवाह गर्ने, गराउने र विवाहमा जन्ती जाने, भोज खानेहरुलाई पनि सजाय दिने व्यवस्था गरियो भने छिट्टै बालविवाह न्यूनीकरण हुने देखिन्छ ।
समाजः बालविवाह, बालश्रम र मानव बेचविखन एकअर्कामा कसरी जोडिएको छ ?
लामाः बालविवाह, बालश्रम र मानव बेचविखन एकअर्कामा अन्तरसम्बन्धित रहेको छ । किनभने बालविवाह भएपछि परिवार पाल्नकै लागि भएपनि बालक अथवा बालिका थोरै पारिश्रमिक मै बालश्रम गर्न जान बाध्य हुन्छन् । र थोरै पारिश्रमिकमा बालश्रम गरिरहेका बालबालिकाहरु अरुको ललाइफकाई र लोभलालचमा सजिलै फस्न सक्ने देखिन्छ ।
समाजः बेचविखनपछि तपाईहरुले उद्दार गर्नुभएका बालिकाहरुको अहिलेको अवस्था कस्तो छ ?
लामाः बेचबिखनपछि फर्किएका बालिकाहरुलाई परिवार र समाजले सजिलै स्वीकार्न सकेको अवस्था छैन । स्वीकारे पनि समाजमा विभिन्न किसिमको शब्दहरु प्रयोग गरेर बेचबिखनबाट फर्केका बालबालिकाहरुलाई नै विभिन्न आक्षेपहरु लगाइने भएकोले उनीहरु समाजमा सजिलै पूनस्र्थापना हुन सकेको छैन । प्रायः महिला तथा बालबालिकाहरु चाहिँ पूनस्र्थापना हुन नसकेर काठमाडौंतिर विभिन्न संघ, संस्थाहरुमा बसिरहनुभएको ।
समाजः बेचबिखन भएर फर्केका बालिका तथा महिलालाई समाजले सजिलै नस्वीकार्नुको कारण के देख्नुभयो ?
लामाः यसको मुख्य कारण चाहीँ पितृ सत्तात्मक समाज र महिलालाई मात्रै गलत भन्ने सोच हो । हाम्रो समाजमा केटा र केटीमध्ये जसको गल्ती भएपनि केटीलाई नै दोष लगाउने तथा केटी कै गल्ती देखाउने चलन रहेको छ । पछिल्लो समय यस्ता सोचहरु केही मात्रामा परिवर्तन भएको देखिन्छ तर सोचेजति परिवर्तन भने हुन सकेको छैन ।