कहिलेकाही हामी शिक्षकहरुलाई एक किसिमको भ्रम हुने रहेछ । म सबै जान्दछु । यसैको फलस्वरूप यदाकदा हामी कुनै विद्यार्थीलाई लिएर फलानो विद्यार्थी त अगाडि गएर फिटिक्कै बोल्न सक्दैन, लाज मान्छ, थरथर काँप्छ । अगाडि गएर बोल्न भनेपछि सातदिनको ज्वरो आउँछ भन्दै विद्यार्थीको कमजोर अवस्थाको बारम्बार उदाहरण प्रस्तुत गरिरहेका हुन्छौं । तर त्यही ठाउँमा हामी उभिँदा हाम्रो चैं प्रस्तुती कस्तो हुन्छ त ? हामीले कहिले सोचेका रहेनछौं ।
विद्यालयले शिक्षकहरुको व्यक्तित्व विकास तथा आत्मविश्वास प्रवद्र्धनको उद्देश्यसहित सोमबार गरेको अतिरिक्त क्रियाकलापमा मैले यो कुरा गहिरो गरी महसुस गर्ने मौका पाएँ । अरु समय मज्जाले बोल्ने र कक्षामा बालबालिकालाई मज्जाले पढाउने हामी शिक्षकहरु जब स्टेज उक्लियौं हाम्रा शब्दहरु कताकता हराए जस्तो भयो । जति बोल्दा पनि नथाक्ने हामीहरु कुनै विषयबस्तुमा बोल्नुपर्दा मुरीको भारी बोकेर उभिनु परे जस्ता भयौं । अनि बल्ल बुझ्यौं कि बास्तव मै मञ्चमा उभिएर बोल्नु चानचुने कुरो होइन रहेछ ।
पालैपालो हामी स्टेजमा कमजोर सावित भैरहेका थियौं । तुलनात्मकरुपमा मेरो प्रस्तुती राम्रो भएको सुन्न पाउँदा खुसी त अवश्य नै लाग्यो तरपनि हामी कहाँ रहेछौं भन्ने तथ्य पनि आजको कार्यक्रमले हामीलाई प्रष्ट्याई दियो । करीब ३ हप्ता अघि नै हामीलाई हामीले गर्नुपर्ने प्रस्तुतीको बारेमा सूचनापाटीमा सूचना प्रकाशित गरिएको थियो । सूचना देख्नासाथ कसरी गर्ने होला ? के गर्ने होला ? भन्ने खुल्दुली लागेको थियो । त्यसका लागि मैले आफ्नो तर्फबाट अग्रज शिक्षकहरुसँग सल्लाह लिएँ र आफ्नो तयारी थालिसकेको थिएँ । सायद मेरो प्रस्तुती राम्रो हुनुमा यही नै मुख्य कारण थियो । तर माइकको अघि स्टेजमा उभिएर बोल्नु साँच्चै चुनौतीकै कुरा रहेछ । यदि विषयवस्तुको भरपुर ज्ञान र आत्मविश्वास हुने हो भने त्यो कर्म पनि सजिलो हुने कुरा मैले महसुस गर्न पाएँ ।
मैले विषय सम्बन्धी प्रस्तुतीकरण दिएको थिएँ । त्यसैगरी अन्य शिक्षकहरूले पनि आ–आफ्नो प्रस्तुती दिनुभएको थियो । पुस्तक समिक्षा, भूमिका निर्वाह, वक्तृत्वकला, वादविवाद तथा नृत्यको माध्यमबाट हामीले हाम्रो क्षमता बुझ्ने मौका पायौं । साथसाथै सुदीप सरले हाम्रो प्रस्तुती तथा समग्र कार्यक्रमको विषयमा आफ्नो विचारहरु राख्नुभएको थियो । साथीहरुको प्रतिक्रिया सुन्दा साह्रै रमाइलो लागेको थियो । पुस्तक समिक्षा गर्ने केहि शिक्षकहरुले पहिलोपटक पुस्तक पढ्नुभएको रहेछ भने धेरैजसो शिक्षकले पहिलो पटक माइक समाएर स्टेज उक्लिनुभएको रहेछ । तर जे होस् सोमबारको कार्यक्रमले हामी शिक्षकहरुले सिक्नुपर्ने बाँकी धेरै रहेछ भन्ने बताएको छ ।
आगामी कार्यक्रममा हामीमा पक्कै केही न केही सकारात्मक परिवर्तन यो कार्यक्रमले ल्याउने नै छ भन्ने मलाई विश्वास लागेको छ । हामीलाई निरन्तर सिक्नका लागि हौस्याइरहनु हुने सुदिप सरलाई हामी सबै शिक्षकहरूको तर्फबाट हार्दिक आभार समेत प्रकट गर्न चाहन्छु ।