हेटौँडाः सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा द्वन्द्व प्रभावित युवाहरूलाई ४ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्को आर्थिक सहयोग तथा जिल्ला युवा समिति सिन्धुलीको समन्वयमा, सामुदायिक विकास तथा सचेतता नेपाल र जनजाति समाज विकास कार्यक्रम (जेएसडीबि) को संयुक्त आयोजनामा तालिम सन्चालन भएको हो ।
सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त कुमार बानियाँको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रम जिल्ला युवा परिषद् सिन्धुलीका अध्यक्ष हेम कार्की, हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कमल राई, श्री माध्यमिक विद्यालय महेन्द्रझाडीका प्रधानाध्यापक रेनुराज देवकोटालगायतको आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।
द्वन्द्व प्रभावित युवाहरू प्रायःजसो विदेश पलायन भएको पाइएकाले युवालाई उद्यमशीलताको विकास गरी सीप र रोजगारीसँग जोड्ने मुख्य उद्देश्यका साथ तालिमको आयोजना गरिएको हरिहरपुरगढीका अध्यक्ष बज्रध्वज वाईबाले बताउनु भएको छ । युवालाई नेपालमा नै व्यापार र व्यवसायमा प्रोत्साहन गरेर विदेश पलायन हुनबाट रोक्नका लागि उद्यमशीलता विकास तालिम उपयुक्त रहेको उहाँको भनाइ छ ।
संस्थाले मकवानपुर र सिन्धुलीमा गरी ६४ जना युवालाई उद्यमशीलता तालिममा संचालन गर्ने लक्ष्य रहेको संस्थाका सचिब अनन्त कुमार बानियाँले बताउनुभयो । हाल हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिकाका ४५ जना युवाहरु प्रशिक्षार्थीको रूपमा सहभागी रहेका छन् । तालिममा अनन्त कुमार बानियाँ र हरिहरपुरगढी गाउँपलिकाका उद्यम शाखा प्रमुख पोष्टराज बिकले सहजीकरण गर्नुहुनेछ ।