विद्यालय अनुगमनको क्रममा नमूना कक्षाकोठामा छलफल गर्दै अनुगमनटोली ।

हेटौँडाः सामुदायिक विकास संस्था (सिडिओ) नेपालले अन्तर्राष्ट्रिय दातृ निकाय प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा विद्यालयमा सञ्चालित कार्यक्रमको अनुगमन गरेको छ । विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि गरिएको सहयोगको बिहिबार अनुगमन गरिएको हो । जनप्रतिनिधिको समेत सहभागितामा विद्यालयको अनुगमन गरिएको हो ।

मकवानपुरगढी गाउँपालिका–३ र ६ नम्बर वडामा रहेको विद्यालयको अनुगमन गरिएको सिडिओ नेपालका कार्यक्रम संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो । मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु मावि र ६ नम्बर वडास्थित जालपादेवी माविको अनुगमन गरिएको हो । सिडिओ नेपालले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा विद्यालयको भौतिक सुधारतर्फ कक्षाकोठाको मर्मत, प्रारम्भिक बालविकास कक्षाको स्तरोन्नति गरी नमूना कक्षाकोठा निर्माण गर्ने, शिक्षकहरुको क्षमता विकासका लागि तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सिडिओ नेपालले जालपादेवी माविमा शौचालय र महिनावारी भएका बेला आराम गर्ने कक्षको पनि निर्माण गरिदिएको छ । सिडिओ नेपालले मकवानपुरको बागमती, मनहरी र मकवानपुरगढी गाउँपालिकाका विद्यालयमा काम गरिरहेको छ । विद्यालयको अनुगमनमा ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरे र ६ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद बजगाई पनि सहभागी थिए ।