हेटौँडाः मकवानपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा सुशील घिमिरे चयन हुनुभएको छ । शनिबार हेटौँडा–४ स्थित कभर्ड हलमा भएको नवौं जिल्ला अधिवेशनबाट घिमिरेको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
घिमिरे यसअघि संघको उपाध्यक्ष हुनुहुन्थ्यो । घिमिरेको अध्यक्षतामा ८ सदस्यीय जिल्ला समिति गठन भएको हो । संघको उपाध्यक्षमा उज्वल शर्मा भण्डारी, सचिवमा अमित मानन्धर र कोषाध्यक्षमा राजन शिल्पकार चयन हुनुभएको छ । यस्तै रुपा विडारी र लक्ष्मी पुडासैनी सदस्य चयन हुनुभएको छ । नवनिर्वाचित कमिटीको कार्यकाल ३ वर्षको रहनेछ ।
सम्मेलनको अवसरमा संघले हेटौँडामा सम्पन्न दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङमा स्वर्ण पदक विजेता मकवानपुरका सोहन राईलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको छ । यस्तै संघका पूर्व जिल्ला अध्यक्षहरुलाई सम्मान गरिएको छ । जिल्ला बक्सिङका अध्यक्ष दीपेश जोशीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा संघका केन्द्रीय अध्यक्ष राम आवले, महासचिव सबिन भट्टचार्य, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गी र हेटौँडा–१४ का वडाध्यक्ष दीपक खड्का लगायतको आतिथ्य रहेको थियो ।