हेटौँडा उपमहानगरपालिकाले शनिबार साँझ नगरभित्रका विद्यालयमा विदा गर्नेसम्बन्धी सूचना ।

हेटौँडाः हेटौँडा उपमहानगर क्षेत्रका विद्यालयमा एक साता विदा दिइएको छ । शनिबार साँझ शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले एक विज्ञप्ति जारी गर्दै जेठ २१ गतेदेखि २६ गतेसम्म विद्यालय विदा गर्ने जानकारी गराइएको छ । तापक्रम अत्यधिक वृद्धि भई दैनिक जनजीवनमा प्रत्यक्ष असर परिरहेको र विद्यालयको शिक्षण क्रियाकलापमा अझै बढी असर परिरहेको उल्लेख गर्दै विद्यालयमा विदा गर्ने निर्णय गरिएको उपमहानगरद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

यसअघि उपमहानगरले विद्यालय विदा गर्ने, नगर्ने जिम्मा वडालाई दिएको थियो । उपमहानगरभित्र वडाले फरक फरक निर्णय गरिरहेको र नगरका केही वडाले ध्यान नदिएको भन्दै चर्को आलोचना भएपछि उपमहानगरले नै विदासम्बन्धी निर्णय गरेको हो । अहिले दिइएको विदा वर्षे विदामा कट्टा गरिने बताइएको छ । अनुकुल मौसम भयो भने बीचमा विद्यालय सुचारु गर्ने निर्णय हुने पनि सूचित गरिएको छ ।

शनिबार दिउँसो वडा नम्बर ४ र ५ ले आइतबारदेखि मंगलबारसम्म विदा दिने निर्णय गरेको थियो भने १५ नम्बर वडाले आइतबार र सोमबार मात्रै विदा दिने निर्र्णय गरेको थियो । यसअघि मकवानपुरको बकैया गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै जेठ २१ गतेदेखि २७ गतेसम्म विद्यालय विदा गर्ने जनाएको थियो ।