केही दिनदेखि गर्मी ह्वात्तै बढेको छ । बैशाख–जेठ गर्मी मौसम भए पनि यस वर्ष खासै पानी नपरेका कारण वातावरण सुख्खा बनेको छ र गर्मी पनि बढेको छ । गर्मी भए पनि पानी पर्न थालेको भए केही शितलता मिल्थ्यो । तर, चर्को घाम लागिरहेका कारण दिउँसोको समयमा बाहिर निस्कनै मुस्किल पर्न थालेको छ । गर्मी बढ्दै गएका कारण मानिसमा विभिन्न प्रकारका रोगको संक्रमण पनि बढेको छ । चर्को गर्मीबाट आलसतालस हुनुपर्ने अवस्थाले सबै क्षेत्रलाई प्रभावित पारेको छ । गर्मीले जनजीवन प्रभावित भइरहेको अवस्थामा यसबाट हुन सक्ने विभिन्न प्रकारका रोगको संक्रमणप्रति सचेत हुनु आवश्यक देखिएको छ । गर्मी बढ्दै जाँदा जनजीवन असहज बन्नुका साथै विभिन्न प्रकारको रोगको संक्रमणको सम्भावनालाई बढाउँछ । बिहानैदेखि चर्को घाम लाग्ने गर्दा मौसम प्रतिकूल बनिरहेको छ । गर्मीको समयमा विभिन्न प्रकारका संक्रामक रोगहरु फैलने गर्दछ । यस्ता संक्रामक रोगहरु चाँडै फैलने गरेका छन् ।

गर्मी मौसम रोगहरुको मौसम पनि हो । यो मौसममा विभिन्न प्रकारका सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । गर्मीमा खाना छिटो सड्ने र यस्तो खाना विषाक्त हुने, लामखुट्टेको वृद्धि पनि यही मौसममा बढ्ने गरेका कारण रोगको संक्रमण बढी हुने गर्दछ । गर्मी मौसममा बढ्ने प्रदूषणले पनि रोगहरु निम्त्याउँछ । गर्मी मौसममा सामान्य रुघाखोकी तथा ज्वरोको संक्रमण बढी हुने गर्दछ । चिकित्सकका अनुसार गर्मीमा दूषित खाना तथा पानीका कारण टाइफाइड ज्वरो, आउँ, झाडापखाला, हैजा, हेपाटाइटिस आदि रोग बढी सक्रिय हुन्छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस, कीट तथा भुसुनाको टोकाइबाट सर्ने स्क्रवटाइफस, कालाजार आदि गर्मीमा नै बढी देखिने गरेको छ । गर्मी मौसममा सर्पले टोक्ने सम्भावना पनि उत्तिकै रहन्छ । सडेगलेका, झिंगा भन्केका, राम्रो सफाइ नभएको ठाउँमा खानाले र आफ्नो पनि सफाइ राम्रोसँग नगरेको अवस्थामा यी रोग सर्छन् ।

पछिल्ला केही दिनदेखि गर्मी बढेका कारण मौसममा परिवर्तन आएसँगै विभिन्न रोगका संक्रमण देखा पर्न थालेका छन् । मौसम परिवर्तनसँगै मानिसको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति कम हुने भएकाले संक्रमण बढ्ने चिकित्सकको भनाई छ । गर्मीमा रोगको संक्रमणबाट बच्न बासी तथा सडेगलेका खानेकुरा नखाने, सफा पानी पिउने, घाममा धेरै बाहिर ननिस्कने तथा विरामी भएमा जथावाभी औषधीहरु सेवन नगर्नु उचित हुन्छ । संक्रामक रोगले युवालाई भन्दा जेष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरुलाई सताउने गर्दछ । गर्मी बढ्दै गएपछि बालबालिका बढी प्रभावित बनेका छन् । विद्यालयमा दिनभर चर्को गर्मीमा बस्नुपरेका कारण बालबालिकामा स्वास्थ्य समस्या बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै केही दिन विद्यालय बन्द गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । वर्षे बिदाबाट मिलान गरेर अहिलेको चर्को गर्मीमा विद्यालयको पठनपाठन बन्द गर्दा बालबालिकालाई सहज हुने भएकाले यस्तो आवाज उठ्नु स्वभाविक पनि हो ।

गर्मी महिनामा वर्षेनि यस्तो समस्या देखिने गरेको भए पनि हामीमा सचेतना बढेको छैन । एउटै खालका रोगहरु हरेक वर्ष दोहोरिने भएकाले समयमै सावधानी अपनाए रोग लाग्नबाट बच्न र बचाउन सकिन्छ । गर्मी बढ्दै जाँदा वर्षेनि मौसमी रोगले दुःख दिने भएकाले आम मानिसहरु आफ्नो स्वास्थ्यप्रति सचेत हुनु आवश्यक छ । विभिन्न तहका सरकारले पनि यस्तो समयमा फैलने रोग र त्यसबाट बच्ने उपायका बारेमा चेतनामूलक सन्देश प्रवाह गर्नुपर्छ । पानी र खानाबाट हुने झाडापखाला, वान्ता, रुघाखोकी, जन्डिसजस्ता रोगहरु फैलने भएकाले सफा पानी पिउने, बासी खाना नखाने गरेमा यस्ता रोगबाट बच्न सकिन्छ । संक्रामक रोगहरुले कुनै पनि बेला महामारीको रुप लिने भएकाले सरकार र सम्बद्ध निकाय चनाखो हुनुपर्छ । समस्या परेपछि जागरुक बन्नुभन्दा समस्या आउनै नदिनेतर्फ सबै पक्ष गम्भीर बनेमा गर्मीबाट हुने रोगको संक्रमण कम गर्न सकिन्छ ।