हेटौँडाः हेटौँडामा जारी मेयरकप फुटबल प्रतियोगिताअन्तर्गत बिहिबार भएको खेलमा ९ र ११ नम्बर वडा विजयी भएको छ । ९ नम्बर वडाले १६ नम्बर वडालाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने ११ नम्बर वडाले ७ नम्बर वडालाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ ।
११ नम्बर वडाका लागि पहिलो हाफमा पवन राईले निर्णायक गोल गरे । राई म्यान अफ द म्याच घोषित भए । यस्तै बिहिबार भएको दोस्रो खेलमा १ गोलले पछि परेको स्थितिलाई उल्टाएर ९ नम्बर वडा २–१ गोलअन्तरले विजयी भएको हो । खेलको पहिलो हाफमा १६ नम्बर वडाले गोल गरेर खेलमा अग्रता बनाएको थियो । १६ नम्बर वडाका विकास राईले सुरुवाती गोल गरेका थिए । दोस्रो हाफमा ९ नम्बर वडाका लागि विमर्श कार्कीले बराबरी गोल गरे । दोस्रो हाफमै ९ नम्बर वडाका सुरेन्द्र अर्यालले फ्रि–किकमार्फत निर्णायक गोल गरे । सुरेन्द्र म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताअन्तर्गत शुक्रबार १ र ५ नम्बर वडाबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल वडा नम्बर १२ र १४ बीच हुनेछ । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल जेठ २७ गते हुनेछ । प्रतियोगितामा हेटौँडा उपमहानगरका १९ वडाको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेता १ लाख ५० हजार, सेमीफाइनलमा पराजित हुने २ वटा टिमलाई ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १५ र उत्कृष्ट खेलाडीहरुलाई ५/५ हजार रुपैयाँ नगदसहित शिल्ड एवम् मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ ।