हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा मकवानपुरको प्रसिद्ध पर्यटकीयस्थल लटारम्भेश्वरसम्म साहित्यिक पदयात्रा गरिएको छ । २९० औं साहित्य शृंखलाका अवसरमा मकवानपुरको बकैया–१२, ठिंगनस्थित महाभारत पर्वतश्रृंखलामा रहेको लटारम्भेश्वर मन्दिरसम्मको करिब १८ किलोमिटर पदयात्रा सोमबार सम्पन्न भएको हो ।
पदयात्रामा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्य थियो । पदयात्रामा बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, बकैया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलाल, बकैयाका वडा अध्यक्षहरु ज्ञानेन्द्र बजगाई, गोपालबहादुर न्यासुर, टंकध्वज लोप्चन, बिष्णु नेगी र लक्ष्मी जिम्बाको एवम् कार्यपालिका सदस्यहरु लक्ष्मी माझी र दीपकुमारी विश्वकर्माको समेत सहभागिता थियो ।
साहित्य संगमम मकवानपुरका उपाध्यक्ष सानु खनाल, नेपाली भाषा शिक्षक समितिका अध्यक्ष केशव सञ्जेल, गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण, नेपाली लेखक संघका अध्यक्ष छवि अनित्य, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौला, गजल मञ्चका सचिव हरि पौड्याल, प्रगतिशील लेखक संघ मकवानपुर उपाध्यक्ष विशाल अधिकारी, हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख देवीराम लामा, सिस्नुपानी मकवानपुरका सम्प्रस पौडेल, एस लामालगायतको सहभागिता थियो । पदयात्रामा झरना साहित्यिक परिवार मकवानपुर कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु, विशिष्ट आजीवन सदस्यहरु, आजीवन सदस्यहरु, बकैया गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु तथा स्थानीय व्यक्तिहरुसमेत ८० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
बकैया गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष गोपालबहादुर न्यासुर तथा वडा नम्बर १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईंको विशेष आर्थिक व्यवस्थापनमा पदयात्रा आयोजना गरिएको बताइएको छ । पदयात्राबाट फर्कने क्रममा झरना साहित्यिक परिवार मकवानपुरको २९० औं साहित्य शृंखला आयोजना गरिएको थियो । कार्यक्रममा साहित्यिक रचनाहरु वाचन गरिनुका साथै बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, झरना साहित्यिक परिवार मकवानपुरका पूर्वअध्यक्ष उद्धवप्रसाद सापकोटा, जनार्दन खनाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष लामिछानेले यो क्षेत्रमा पदमार्ग विकास गर्न तुरुन्तै डीपीआर बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । तत्काल यो पदमार्गको काम सुरु हुने उहाँले बताउनुभयो ।
मकवानपुरको बकैया–१२ स्थित लटारम्भेश्वर मन्दिर पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । जिल्लाभित्र तथा जिल्ला बाहिरका विभिन्न ठाउँबाट धार्मिक आस्था, प्राकृतिक आनन्द तथा साहसिक यात्राका लागि यस ठाउँमा मानिसहरुको आवतजावत बढ्दै गएको पाइन्छ । केही वर्षअघिसम्म खासै चर्चामा नआएको यो मनोरम स्थलमा अहिले दिनहुँ सयौं मानिसले भ्रमण गर्ने गरेको स्थानीयको भनाई छ । संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षताका भएको कार्यक्रममा निलहरि ढुंगेलले स्वागत गर्नुभएको थियो भने संस्थाका सचिव मसान उपासकले सहजीकरण गर्नुभएको थियो ।