हेटौँडाः दोस्रो संस्करणको हेटौँडा मेयर कप फुटबल प्रतियोगिता आज सोमबारदेखि सुरु हुँदैछ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाको टिम सहभागी हुने नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले जानकारी दिनुभयो ।
प्रतियोगिताको खेलतालिका आइतबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको आज सोमबार दिउँसो २ बजे उद्घाटन हुने जनाएको छ । उद्घाटन खेल वडा नम्बर ३ र १५ बीच हुनेछ । नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल जेठ २७ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने जनाएको छ । यस्तै सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई ५०–५० हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । विधागत उत्कृष्ट खेलाडीहरुले नगद ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछ । पहिलो संस्करणको मेयर कपको उपाधी १० नम्बर वडाले जितेको थियो ।