हेटौँडाः धन नभए पनि मन भए चाहेको पूरा हुन्छ भन्ने नेपाली उक्ति नै छ । यस्तै चाहना पूरा गर्दैछ बागमती प्रदेश सरकार । संघीय सरकारमातहतको प्रहरीका लागि बागमती प्रदेश सरकारले नियमित लगानी गरिरहेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ५ वटा प्रहरी चौकी भवनका लागि ६ करोड १५ लाख ५६ हजार रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारले चितवन जिल्लाको सौराहास्थित प्रहरी चौकी निर्माणका लागि ९७ लाख ३३ हजार, जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला व्यारेक भवन निर्माणका लागि ८४ लाख २२ हजार, सिन्धुली जिल्लाको प्रहरी चौकी खाङसाङको भवन निर्माणका लागि १ करोड ३ लाख ३९ हजार रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै जिल्ला ट्राफिक कार्यालय रामेछापको भवन निर्माणका लागि १ करोड ३२ लाख ६१ हजार रुपैयाँ र मकवानपुरगढीस्थित इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि १ करोड ९८ लाख १ हजार रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।
आइतबारको बैठकले प्रदेशका १० जिल्लाका १० पालिकालाई १० लाख रुपैयाँका दरले स्थानीय विपद् कोषमा १ करोड रुपैयाँ जम्म गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले दोलखाको गौरीशंकर गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, नुवाकोटको म्यागङ गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका, सिन्धुलीको मरिण गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको स्थानीय विपद्कोषमा १० लाख रुपैयाँका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरुलाई थप सशर्त अनुदान दिने निर्णय गरेको छ । नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र १ करोड १० लाख रुपैयाँ र मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ५० लाख गरी कुल १ करोड ९० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालनसम्बन्धी विधेयक तर्जुमा सम्बन्धमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको बैठकले सिन्धुली अस्पतालमा भएको घटनामा भौतिक संरचनाको क्षतिको मर्मत गर्न १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
