Home मुख्य समाचार श्रमिक माविमा निर्वाचनको अभ्यास

श्रमिक माविमा निर्वाचनको अभ्यास

श्रमिक माविमा मतदान गर्दै विद्यार्थी ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयका विद्यार्थीलाई निर्वाचनको अभ्यास गराइएको छ । विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा प्रयोगात्मक अभ्यास गराई विद्यार्थीमा नेतृत्व क्षमताको विकास गराउन विद्यालयले निर्वाचन गराएको हो ।

विद्यालयमा गठन भएको जुनियर रेडक्रस सर्कल (जुरेस)को पदाधिकारी चयन तथा विद्यालयको क्याप्टेन र उपक्याप्टेन, विभिन्न सदनहरुको क्याप्टेन र उपक्याप्टेन चयनका लागि शुक्रबार निर्वाचन गरिएको हो । विद्यालय परिसरमा संसदीय तथा स्थानीय तहको निर्वाचनकै झल्को दिने गरी निर्वाचन अभ्यास गरिएको हो ।

विद्यालयले निर्वाचन आयोगको प्रदेश कार्यालय हेटौंडाबाट निर्वाचनमा प्रयोग हुने सामग्री व्यवस्थापन गरेर निर्वाचन गराएको छ । विद्यालयका शिक्षक, कर्मचारीले निर्वाचन अधिकृत, मतदान अधिकृतको रुपमा भूमिका निर्वाह गरी निर्वाचनको प्रक्रियालाई सहजीकरण गरेका छन् । विद्यार्थीलाई निर्वाचन प्रक्रियाको बारेमा प्रयोगात्मक ज्ञान प्रदान गर्नुका साथै नेतृत्व एवम् व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले व्यवस्थितरुपमा निर्वाचन गरिएको विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभयो ।

निर्वाचनबाट विद्यालयको जुरेस अध्यक्षमा कक्षा ९ की अस्मिता गौतम निर्वाचित भएकी छिन् । जुरेसको उपाध्यक्षमा कक्षा ९ की सहिमा खातुन, सचिवमा कक्षा ९ की नेमत खातुन, सहसचिवमा कक्षा ८ का राज आलम र कोषाध्यक्षमा कक्षा ८ की रिदिमा शाही निर्वाचित भएका छन् । यस्तै जुरेस सदस्यहरुमा कक्षा ६ का संयोग माझी, कक्षा ८ की अञ्जलीकुमारी राम, क्रिष्टिना लोप्चन र युलिसा चौलागाईं निर्विरोध निर्वाचित भएका छन् । विद्यालयको क्याप्टेनमा कक्षा ९ की हलिमा खातुन १६८ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी कक्षा ७ का राकेशकुमार यादवले २५ मत प्राप्त गरेका छन् । विद्यालयको उपक्याप्टेनमा कक्षा ९ की प्रगति माली विजयी भएकी छिन् । मालीले १०३ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी कक्षा ५ का भविस दाहालले ६९ मत ल्याएका थिए ।

ब्लु हाउस क्याप्टेनमा कक्षा ९ का निशान्त बोगटी र उपक्याप्टेनमा कक्षा ८ की जेनिशा मुक्तान विजयी भएका छन् । रेड हाउस क्याप्टेनमा कक्षा ९ का साजन अधिकारी र उपक्याप्टेनमा कक्षा ६ का विकास गुप्ता निर्वाचित भएका छन् । ग्रिन हाउस क्याप्टेनमा कक्षा ६ की मीनकुमारी तामाङ र उपक्याप्टेनमा कक्षा ६ की जेनिशा कुँवर विजयी भएका छन् । एल्लो हाउसको उपक्याप्टेनमा कक्षा ९ का पुकार अर्याल विजयी भएका छन् । एल्लो हाउसको क्याप्टेनमा कक्षा ९ की लक्ष्मीकुमारी राम र प्रियंका साहको बराबर मत प्राप्त भएकाले आज आइतबार निर्णय गरिने निर्वाचन समितिका संयोजक शिक्षक सुशीलकुमार पोखरेलले जानकारी दिनुभयो ।

विद्यालयले वार्षिक कार्ययोजनामै शुक्रबारका लागि निर्वाचन कार्यक्रम तय गरेको विद्यालयका सहायक प्रधानाध्यापक गोपीरमण प्याकुरेलले जानकारी दिनुभयो । निर्वाचनमा कक्षा ४ देखि ९ कक्षासम्मका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको बताउनुभयो । निर्वाचनमा ५१ जना विद्यार्थीले उम्मेदवारी दिएर प्रतिस्पर्धामा सहभागी भएको उहाँले जानकारी दिनुभयो । विद्यालयका कक्षा ४ देखि १० कक्षासम्मका करिब ३ सय जना विद्यार्थीले मतदान गरेका छन् ।

निर्वाचन कार्यक्रमको शुभारम्भ विद्यालय व्यवस्थापन समिति अध्यक्ष विवेक कार्कीले गर्नुभएको थियो । निर्वाचनमा हेटौंडा ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समिति सल्लाहकार ईश्वरीप्रसाद कोइराला, विद्यालय व्यवस्थापन समिति सदस्य रीता दाहाल, शिक्षक अभिभावक संघ सदस्य निरज सिंह ठकुरीलगायतले अवलोकन तथा पर्यवेक्षण गरेका थिए ।

Exit mobile version