हेटौंडाः दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता आइतबारबाट सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगिताको आइतबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जमकट्टेलले खेलकुद क्षेत्रलाई व्यवस्थित गरी व्यावसायिक खेलाडी उत्पादन गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो । प्रदेश सरकारले खेलकुदका संरचना निर्माण कार्य अगाडि बढाएको र चाँडै निर्माण सम्पन्न गरिने उहाँले बताउनुभयो ।
आगामी वर्षमा प्रदेश सरकारले अन्तरप्रदेश खेलकुदको आयोजना गर्नेगरी तयारी र आवश्यक समन्वय गरिने उहाँले बताउनुभयो । अहिले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट, नीति र कार्यक्रम बनाउने तयारीमा रहेको बताउनुहुँदै उहाँले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताउनुभयो । सरकारको लगानीलाई परिणाममुखी बनाउन खेलाडीहरुलाई उहाँले आग्रह गर्नुभएको छ ।
यस्तै, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले आगामी वर्ष खेलकुद क्यालेण्डर नै निर्माण गरेर प्रतियोगिताहरु सञ्चालन गरिने बताउनुभयो । गत संस्करणमा भन्दा यसपटक खेलको संख्या बढाएको बताउनुहुँदै उहाँले अर्को संस्करणमा थप गर्दै जाने बताउनुभयो । प्रदेशमा छनौट हुने खेलाडीहरु स्वतः दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट हुने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताअन्तर्गत् १३ खेलमा २ सय १९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । १३ खेलमध्ये मकवानपुरमा ९ खेल, चितवन र ललितपुरमा एक–एक खेल र काठमाडौंमा २ खेल सञ्चालन हुनेछ । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आगामी शनिबार सम्पन्न हुने जनाइएको छ ।
आइतबार प्रतियोगिता उद्घाटनमा राष्ट्रिय कलाकार, झाँकी र आर्मी–प्रहरीहरुले प्रस्तुति रहेको थियो । बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री एवम् प्रदेश खेलकुद विकास परिषद् अध्यक्ष कुमारी मोक्तानको सभाध्यक्षमा भएको कार्यक्रममा बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम् पूर्वमन्त्री जीवनराम शर्मालगायत प्रदेशका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।