हेटौँडाः नुवाकोट र काभ्रेपलाञ्चोक जिल्लामा एकै दिन ३ जना मृत फेला परेका छन् । नुवाकोटमा २ जना र काभ्रेपलाञ्चोकमा १ जना मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
नुवाकोट जिल्लाको बिदुर नगरपालिका–१०, केराबारीमा एकजना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा नगरपालिका–२ बस्ने ५४ वर्षीया देवकी अधिकारी खनाल रहेको प्रहरीले जनाएको छ । देवकी गत माघ १५ गते घरबाट कोही कसैलाई नसोधी आफु खुसी हिँडेकी थिइन् । उनको खोजीका लागि १६ गते प्रहरीमा निवेदन दिएकोमा जेठ २ गते मंगलबार ११ बजेर ३० मिनेटको समयमा जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, नुवाकोट जिल्लाको बिदुर नगरपालिका–३, बांगेभिरमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा बिदुर नगरपालिका–५, माझिटार बस्ने ६० वर्षीय कृष्ण बहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । नेपालीले मंगलबार दिउँसो २ बजेको समयमा नगरपालिका–५, देवीघाट किनारबाट त्रिशुली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–७, चिसापानीमा एकजना पुरुष मृत फेला परेको छ । मृत फेला पर्नेमा सोही स्थान बस्ने ५५ वर्षीय गणेश तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङ वैशाख ३१ गतेदेखि हराएका थिए । तामाङको आफन्तहरुले खोज तलास गर्दा मंगलबार दिउँसो १ बजेको समयमा चिसापानी जंगलको खोल्सामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।