मुलुकको विकासको सबैभन्दा ठूलो बाधक भ्रष्टाचार देखिएको छ । सामान्यदेखि निकै ठूलो भ्रष्टाचारका नमुना दिनहुँ सार्वजनिक भइरहेको छ । मुलुकमा व्याप्त भ्रष्टाचारले सुशासनको धज्जी उडाइरहेको छ । नागरिकले छिटो, छरितो, सुलभ र सहज किसिमबाट राज्यले दिने सेवा सुविधा पाउन सकेका छैनन् । राज्यशक्तिको पहुँचमा भएकाहरु भ्रष्टाचारमा लिप्त बन्दा आम नागरिकले अनाहकमा सास्ती पाउनु परेको छ । नागरिकको सामान्य दैनिकीदेखि देशमा हुने विकास, निर्माणका काममा भ्रष्टाचार भएका घटना सामान्य बनेका छन् । प्रत्येक पटक सरकार गठन वा परिवर्तन हुँदा यो सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ला भन्ने नागरिकले आशा गरिरहेका हुन्छन् । अघिल्लो सरकारले केही गर्न नसकेको अवस्थामा सरकार परिवर्तनसँग आम नेपालीमा भ्रष्टाचार उन्मूलनको आशा जाग्नु स्वभाविक भए पनि प्रत्येक सरकारले नागरिकलाई निराशाबाहेक केही दिन सकेको पाइँदैन । सुशासनको आशा गरेका नेपालीलाई भ्रष्टाचारका समाचारले बारम्बार झस्काउने मात्र नभई निराशा बढाउँदै लगेको छ ।
पछिल्लो पटक नक्कली भुटानी शरणार्थी काण्डले देश विदेशमा चर्चा पाइरहेका छ । तीन जना पूर्वगृहमन्त्री उक्त काण्डमा मुछिएका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित उक्त काण्डका ओरोपी १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी फरार छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकारसमेत यस प्रकरणमा पक्राउ परेका कारण थापाको पनि संलग्नता हुनसक्ने आशंका गरिएको छ । राज्य संयन्त्र र राजनीतिक दलका हाइ प्रोफाइल व्यक्तिहरु संगठित गिरोहसँग मिलेर हजारौं नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाउने तयारी गरिएको यस घटनाले मुलुकको बेइज्जतिसमेत भएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म उठाएर अरबौंको लेनदेन भएको भन्दै प्रहरीले अनुसन्धान व्यापक बनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एउटा संगठित गिरोह नै लागेको तथ्य खुल्दै गएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउबा पत्नी आरजु राणासमेत यो प्रकरणमा संलग्न भएको अडियो सार्वजनिक भएको छ ।
भ्रष्टाचार जघन्य अपराध हो । भ्रष्टाचार गर्ने व्यक्ति जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्छ । भ्रष्टाचारीलाई कारबाही गर्न/गराउन सबैले सहयोग गर्नुपर्छ । अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राप्रपाले सरकारसँग माग गरेको छ । राप्रपा मकवानपुरले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र पठाएको हो देशको अन्तराष्ट्रिय छवि नै धुमिल गराउने गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन संगठितरुपमा राज्यशक्तिको दुरुपयोग गरिएको यो प्रकरणले सारा नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा शीर निहु¥याउनुपर्ने परिस्थिति सिर्जना भएको भन्दै राप्रपाले यसमा संलग्न जुनसुकै तहका नेतृत्वलाई कुनै बहानामा पनि छुट नदिन माग गरेको छ ।
देशका प्रमुख राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादीका नेता तथा तिनका पारिवारिक सदस्यसमेतको मिलेमतोमा ठूलै गिरोह वर्षौं अघिदेखि यस प्रकरणमा संलग्न रहेको रहस्य खुल्दै गएको छ । उच्च पदस्थ व्यक्तिहरुको संलग्नता भएको यस्ता धेरै काण्डहरु विगतमा पनि सार्वजनिक नभएका होइनन् । ती काण्डमा संलग्न अधिकांश उच्च पदस्थहरुलाई कुनै कारबाही भएका थिएनन् । मुलुकमा व्याप्त भ्रष्टाचार, आपराधिक घटना, तस्करी आदिमा संलग्न तल्लास्तरका केही व्यक्ति पक्राउ परे पनि ठूला व्यक्तिहरु पक्राउ पर्दैनथिए । पक्राउ परिहाले पनि राजनीतिक प्रभाव र पहुँचका आधारमा उनीहरुले सजिलै उन्मुक्ति पाउँथे । तर, यस पटक भने केही उच्च पदस्थहरुसमेत पक्राउ पर्नुले केही आशा जगाएको छ । सबै राजनीतिक दल तथा पदीय जिम्मेवारी पाएका व्यक्तिहरु एकजुट भएर दृढताका साथ भ्रष्टाचारविरुद्ध उभिन सकेमा भ्रष्टाचारीलाई दण्डित गरी भ्रष्टाचार कम गर्न सकिन्थ्यो कि ?