हेटौंडाः मकवानपुर प्रहरीले दुई दिनको अवधिमा ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । फरक–फरक मितिमा अदालतबाट फैसला भएर फरार रहेकामध्ये ११ जनालाई दुई दिनमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विभिन्न मुद्दाका प्रतिवादीहरुलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ११ जना फरार प्रतिवादीहरुलाई मंगलबार र बुधबार पक्राउ गरिएको हो । २०७८ जेठ २४ गतेको फैसला अनुसार राष्ट्रिय वन क्षेत्रबाट अवैध रुपमा वन पैदावार हटाएको मुद्दाका प्रतिवादी बागमती–१, भैँसेका ३८ वर्षीय तिर्साङ्ग लामा थोकरलाई बुधबार प्रहरीले पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकोमा जरिवाना ११ लाख ७७ हजार ४ सय १० वापतको कैद १० वर्षका लागि भीमफेदी कारागारमा पठाइएको छ ।
यस्तै, २०७४ माघ २८ गतेको फैसला अनुसार लागूऔषध गाँजा मुद्दाका प्रतिवादी साविक मनहरी गाविस–७ स्थित ज्यामिरेका ४७ वर्षीय सुकुमाया गिरीलाई बुधबार पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकोमा अदालतबाट कैदवापत ३ बर्ष ३ महिना १ दिन र जरिवाना ३ हजार ५ सय रुपैयाँ वापत २ महिना २९ दिन गरी ३ वर्ष ६ महिना कैद भुक्तानका लागि भीमफेदी कारागारमा पठाइएको छ ।
२०७२ पुस १६ गतेको फैसला अनुसार लागूऔषध गाँजा मुद्दाका प्रतिवादी राक्सिराङ गाउँपालिका–८ का नवराज थिङलाई मंगलबार पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतबाट कैदवापत ३ बर्ष र जरिवाना ४० हजार रुपैयाँवापतको ४ महिना १४ दिन गरी ३ बर्ष ४ महिना १४ दिन कैद भुक्तानका लागि भीमफेदी कारागारमा पठाइएको छ ।
प्रहरीले २०७७ चैत ११ गतेको फैसलामा जबरजस्ती करणी मुद्दाका प्रतिवादी कैलाश–९, जुरिखेतका ३२ बर्षीय दिनेश रुम्बालाई मंगलबार पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकोमा अदालतले रुम्बालाई ६ बर्ष ११ महिना ६ दिन कैद भुक्तानका लागि भीमफेदी कारागारमा पठाइएको छ ।
२०७० माघ १ गतेको फैसला अनुसार रहजनी चोरी मुद्दाका प्रतिवादी मकवानपुरको साविक छतिवन गाविस–४ का ४६ वर्षीय अमोज गोङ्बालार्ई मंगलबार पक्राउ गरी जिल्ला अदालतमा पठाइएको थियो । गोङ्बालाई ३ वर्ष ५ महिना ९ दिन कैद भुक्तान गर्न भीमफेदी कारागारमा पठाइएको छ । २०७५ माघ १७ गतेको फैसलामा बिष्फोटक पदार्थ मुद्दाका प्रतिवादी बागमती–४ का ६८ बर्षीय हर्कमान तितुङलाई मंगलबार पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो । तितुङलाई ३ महिना ८ दिन कैद भुक्तान गर्न भीमफेदी कारागारमा पठाइएको छ ।
२०७६ माघ २३ गतेको फैसलामा वन मुद्दाका फरार प्रतिवादी मकवानपुरको बागमती–४ का ५४ बर्षीय खड्क बहादुर घलानलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । पक्राउ परेका घलानलाई जिल्ला अदालतमा उपस्थित गराइएको २९ हजार ६ रुपैयाँ जरिवाना तितेर छुटेको छ । प्रहरीले २०७३ असार २६ गते फैसला भएको सार्वजनिक अपराध मुद्दाका प्रतिवादी मकवानपुरको साविक फापरबारी गाविस–१ का ३१ बर्षीय मंगल बहादुर गोले र सोही ठाउँकै सुदर्शन गोले दुवै जनालाई बुधबार पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत मकवानपुरमा लगिएको थियो । दुवै जना १–१ हजार रुपैयाँ जरिवाना तितेर छुटेका छन् ।
यस्तै, २०७३ असार २ गतेको फैसला अनुसार सार्वजनिक अपराध मुद्दाका प्रतिवादी मकवानपुरको साविक धियाल गाविस–३ बस्ने का ३१ बर्षीय सोम बहादुर स्याङ्तानलाई पनि बुधबार पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको १ हजार रुपैयाँ जरिवाना तिरेर छुटेको छ । २०७३ कार्तिक २५ गतेको फैसलाले नकबजनी चोरी मुद्दाका जाहेरवाला हेटौंडा–१९ का ३४ बर्षीय विजय श्रेष्ठलाई पनि बुधबार पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको १ हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् ।











