हेटौंडाः नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ सवा ८ बजे जारी गरेको प्रेस विज्ञप्तिअनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणअनुसार पर्सा जिल्लाका ४, उदयपुर जिल्लाका १, दाङ जिल्लाका ३ र काठमाडौंका १ गरी ९ जना संक्रमित पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले स्पष्ट पारेको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् भने कोरोनाको संक्रमणबाट नेपालमा कसैको पनि मृत्यु भएको छैन ।