तस्वीरः गुगल ।

पढ्नु वा अध्ययन गर्नु भन्नासाथ मानिसको मानसपटलमा आइहाल्ने कुरा भनेको किताब समाएर बस्नु हो । अध्ययन गर्नु भनेको यो मात्र चाहिँ कदापि होइन । मानिसले आफूलाई राम्ररी चिन्नु पनि एउटा अध्ययन हो, एउटा कला हो । छापिएका किताबहरूका साथमा अरूका दृष्टिकोण, अरूका अनुभव, आफ्नो वरपरको परिवेश, आफ्नो समाज, बितेका कुराहरू आदिको समेत बरोबर अध्ययन गर्न सकिन्छ । पहिले पहिलेका निरक्षर मानिसहरूले समेत आफ्नो जीवनयापनका लागि आवश्यक ज्ञान विभिन्न स्रोतहरूबाट प्राप्त गर्ने गर्दथे, भलै त्यो पर्याप्त नहुन पनि सक्दथ्यो । त्यसलाई पनि एक प्रकारले अध्ययन मान्न सकिन्छ ।

चिरञ्जीवी लामिछाने

ज्ञानको स्रोत यति व्यापक छ कि निरपेक्ष रुपमा हेर्दा कोही कसैले पनि जति नै कोसिस गरे पनि सम्पूर्ण ज्ञान हासिल गर्न सक्दैन । तर सापेक्षिक रुपमा हेर्ने हो भने मानिसले निश्चित उद्देश्यका लागि ज्ञान हासिल गरेर कुनेै न कुनै क्षेत्रमा पूर्णताको नजिक पुग्ने सम्भावना भने रहिरहन्छ । निरन्तरको अध्ययन वा सिकाइ किन आवश्यक छ, किन रचनात्मक सोचको विकास गर्नु जरुरी छ भन्ने सन्दर्भमा विभिन्न दृष्टिकोणबाट प्राप्त धारणा तथा उदाहरणलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ ।

१. सनातन दृष्टिकोण:
क. “न चौर हार्यम् न राज हार्यम्न भ्रातृ भाज्यम् न च भारकारी ।व्यये कृते बर्धते एव नित्यम्विद्या धनम् सर्व धनम् प्रधानम् ।।”
भावार्थ: विद्यारुपी धनलाई न चोरले चोर्न सक्छ न राज्यले जफत गर्न सक्छ; न दाजुभाइलाई भाग लगाउनुपर्छ न त बोक्नलाई गर्हौँ हुन्छ; जति बाँड्यो उति बढ्दै जान्छ, तसर्थ विद्यारूपी धन नै सबै धन भन्दा श्रेष्ठ हो।
ख. साहित्यसंगीतकलाविहीनःसाक्षात् पशुः पुच्छविषाणहीनः । (हितोपदेश)
अर्थात् जो व्यक्तिसँग साहित्य, संगीत र कला तत्व केही छैन, त्यस व्यक्ति पुच्छर नभएको पशु बराबर हो । खासमा मानवीय चरित्र विकासका लागि पनि जीवनमा यस्ता तत्वहरूको आवश्यकता पर्दछ ।मानिसले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर फराकिलो सोचको विकास गर्दै मानवतावाद र विश्व कल्याणमा लाग्नका लाग्न पनि यिनीहरूले प्रेरित गर्दछन् ।

२. स्वास्थ्य दृष्टिकोण:क. आन्तरिक ऊर्जा व्यवस्थापन: शरीरलाई बलियो, तन्दुरुस्त र निरोगी राख्न सन्तुलित भोजन तथा व्यायामको जति महत्त्व छ, त्यति नै महत्व छ मानिसलाई नियमित अध्ययन र सकारात्मक चिन्तनको स्वस्थ मनका लागि ।
ख. आन्तरिक ऊर्जा सबलीकरण:जीवनलाई सार्थक तुल्याउन स्वस्थ शरीरका साथमा स्वस्थ मन पनि हुनु जरुरी छ । अध्ययनबाट मानिसले चाहेको सबै प्रकारका ज्ञान प्राप्त गर्न सकिन्छ, जसले मनिसको लक्ष्य प्राप्तिमा सहयोग गर्दछ । रचनात्मक सीपको विकास हुँदा पनि मानिसको मनले एउटा स्वस्थ ऊर्जा प्राप्त गरिरहेको हुन्छ । अध्ययन र रचनात्मक सीप दुवैका कारण मानिसले आफ्नो उदाशीनता, संवेगको अस्थीरता, परिवर्तनशील मनस्थिति, उग्र व्यवहार, सम्बन्धका समस्या, नकारात्मक सोच, जीवनप्रतिको निराशा आदिमाथि नियन्त्रण कायम गर्न सजिलो हुन्छ । यसका साथै मानिसमा धैर्य गर्न सक्ने क्षमता, मानिसहरूसँग घुलमिल गर्न सक्ने कला, आफ्ना कुराहरूको प्रभावकारी सञ्चार, वैचारिक स्थिरता, शालीन रआकर्षक व्यक्तित्व निर्माण गर्नमा राम्रो सहयोग गर्दछ । समग्रमा भन्नुपर्दा अध्ययन र रचनात्मक सीपले मानिसको आन्तरिक ऊर्जालाई थप सबल बनाउन भूमिका खेल्दछ ।

३. वनस्पति/जन्तु दृष्टान्त दृष्टिकोण:क. क्षमता पहिचानका सन्दर्भमा: आफूमा कुनै रुचि र खुबी नभएको वा आफ्नो रुचि र खुबीलाई नचिन्ने मानिस स्वाद नभएको फल र वासना नभएको फूलजस्तै हुन्छ ।
ख. क्षमता विकासका सन्दर्भमा: रेशमकीराले राम्रो खालको किम्बुको पात खाएर राम्रो गुणस्तरको रेशमधागो तयार गरेजस्तै कुनै विषयवस्तुको राम्रो अध्ययन गर्ने हो भने त्यसबाट राम्रो ज्ञान, विचार र कल्पनाशीलताको निर्माण हुन सक्दछ । चराले आफू बसेको हाँगामा भन्दा आफ्नो पखेटामा बढी विश्वास गर्नुपर्दछ । रुखबिरुवाले पनि आफ्नो जरा राम्ररी गाडिसकेपछि त्यसमा पानी हाल्नुपर्ने वा मलजल गर्नुपर्ने जरुरत नै हुँदैन । यसको अर्थ हामीले आत्मविकासको ज्ञान रुख बिरुवाबाट सिक्न सक्छौ ।  हामीले लहरा जाने र आफैँ उभिने बिरूवाहरूबीच तुलना गर्ने हो भने पनि धेरै निष्कर्ष निकाल्न सक्छौ । जो आफैँमा सक्षम छ, ऊ अरूमा भर पर्नु जरुरी हुँदैन । शरीर र बलमा ठूला देखिने जनावरहरूलाई मानिसले आफ्नो वशमा पार्नुको पछाडि पनि मानिसले आर्जन गरेको ज्ञान, सीप र बुद्धिको नै भूमिका छ ।

४. समाजशास्त्रीय दृष्टिकोण: समाज परिवर्तनको संवाहक: मानिस आफूले चाहेजस्तो समाजमा जन्मन त सक्दैन तर उसले चाहेजस्तो समाज निर्माण गर्ने क्षमता भने पक्कै राख्दछ । समाजको विकास एकै दिनमा सम्भव हुने कुरा होइन । धेरै मानिसहरुको धेरैथरी ज्ञान, बुद्धि, विवेक, कला र सिर्जनात्मक सीपको परिणाम नै समाजको निरन्तर विकास हो । मानिसले सकारात्मक, दूरगामी र बलशाली विचारहरूको निर्माण गर्नका लागि समाजको विगत र वर्तमान् अवस्था र आवश्यकताको राम्रो पहिचान गर्न सकेको हुनुपर्छ । निरन्तरको अध्ययन र रचनात्मक सीपले नै यस्तो प्रयासलाई सम्भव तुल्याउन सक्दछ । 
सामान्यतया हेर्दा कसैले हासिल गरेको ज्ञान नै विस्तारित हुँदै (कतिपय अवस्थामा घटेर वा सघन भएर पनि) अन्य मानिसहरूसमक्ष पुग्ने हो । अर्थात् कसैले ज्ञान लिइरहेका हुन्छन् भन्नुको मतलव कसैले ज्ञान पनि दिइरहेका हुन्छन् । प्राचीन गुरुकूल हुँदै अहिलेसम्म आइपुग्दा ज्ञान लिने र दिने तौरतरिकामा आकाश जमिनको परिवर्तन आइसकेको छ । तर पनि ज्ञान र रचनात्मक सीपको महत्वमा भने खासै परिवर्तन आएको छैन । यी कुराहरू पहिले पनि मूल्यवान् मानिन्थे भने अहिले झन् नमानिने कुरा नै भएन ।

५. अन्य भनाइ/ उखान टुक्काहरू
क. कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा । (Little knowledge is dangerous.)
ख. रित्तो गाग्रो छचल्किन्छ ।
ग. बाहिरी आँखाले देखेको भन्दा भित्री आँखाले देखेको संसार सुन्दर हुन्छ ।
घ. जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड ।
ङ.  देख्नेका आँखा फुटे, सुन्नेका सही ।
च. जुनकीरीको बत्तीले रातमा उज्यालो हुँदैन ।
छ. सूर्यको मुखिञ्ज्याल बत्ती ।