कोराना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्ने उद्देश्यबाट नेपालमा बन्दाबन्दी भएको आज ५३ औं दिन भइसकेको छ । सरकारले बारम्बार बन्दबन्दीलाई कडाई गर्ने भन्दै आएको छ । तर आम नागरिकले बन्दाबन्दीलाई उल्लंघन गर्ने क्रम सुरुका दिनदेखि नै रोकिएको छैन । सुरक्षाकर्मीहरुले दैनिक सयौंको संख्यामा सवारी साधन नियन्त्रणमा लिनेदेखि नागरिकलाई निश्चित समय सडकमै उभ्याउने गर्दा पनि पूर्णरुपमा बन्दाबन्दीको परिपालना हुन सकिरहेको छैन । यसको प्रभाव हेटौंडा बजारमा पनि देखिँदै आएको छ ।
आफैँलाई नपरेसम्म मानिसले चेत्दैनन् भन्ने उखान जस्तै केही नहुन्जेल केही हुँदैनको अवस्थामा नागरिकहरु बजार निस्कने गरेका छन् । राज्यले भिडभाड नहोस् भन्दै सरकारी कार्यालयदेखि सबै व्यापार व्यवसाय खुल्ला गर्न नपाउने उर्दी जारी गरेको हो । तर, लकडाउन आफ्ना लागि भन्दा पनि सरकारी कार्यक्रम हो, माने पनि हुने र नमाने पनि हुने चिन्तनका कारण नागरिकहरुले अटेर गरिरहेका छन् । यही हेलचेक्र्याईँले कुनै पनि समयमा कोरोनाले उग्ररुप नलेला भन्न सकिँदैन ।
हेटौंडामा सुरुका केही दिन लकडाउनको पूर्ण पालना भएकै हो । तर लकडाउनको तेस्रो पटक समयावधि थप भएपछि विस्तारै उल्लंघनको दर बढेको पाईन्छ । नागरिक जीवन सहज गराउन अति आवश्यक सेवा खरिद विक्रीका लागि तोकिएको समयमा भिडभाड नै हुने गरेको छ भने तोकिएको समयलाई दुरुपयोग गर्दै काम नै नभए पनि घुम्न निस्कनेहरुको जमात ठूलै देखिन्छ । यसरी चोक–चोकमा भेला हुनेहरु समाजका अगुवा भनाउँदाहरु नै देखिन्छन् ।
कोरोनाका विषयमा सचेत गराउनु पर्नेहरु नै यस्तो जमघटमा उक्साउने र चिया गफमा रमाउने गर्दा संक्रमणलाई निम्त्याउने काम त भएको छैन ? चोकहरुमा चिया पसल खोल्न लगाउने र देशको सबै अभिभारा आफ्नै काँधमा भएको फुटानी दिँदै आत्मरतिमा रमाउनेहरुबाट कोरोनाको संक्रमण नियन्त्रण गर्न आवश्यक पर्ने शारीरिक दुरी कायम गर्नुपर्ने आवश्यकता समेत उल्लंघन भएका छन् । कसले, कहाँ, कोसँग सम्पर्क गरेको छ ? भन्ने कसैलाई पनि हेक्का हुँदैन । त्यसैले थाहा नपाई कोरोनाको जोखिमलाई निम्त्याउने काम त भएको छैन ? आफ्नो र समग्र समाजको स्वास्थ्य सुरक्षाका लागि हेलचेक्र्याईँ गर्नेहरुबाट होसियार हुनु पर्ने अवस्था छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । विशेषगरी मकवानपुरसँग सिमाना जोडिएका जिल्लाहरु नै संक्रमित भएका छन् । हेटौंडा बजारमा बिक्री हुँदै आएको तरकारी, फलफुल तथा खाद्यान्न मात्र हैन काम गर्ने जनशक्ती समेत ल्याउने र आउने जिल्लाहरु नै कोरोनाबाट ग्रस्त भएका छन् । अब त्यस्ता जिल्लाहरुकाट आयात हुने सबै प्रकारको सेवा र वस्तुहरु तत्कालका लागि वन्देज लगाउनु उपयुक्त हुने छ । यसैक्रममा जिल्ला समन्वय समिति मकवानपुरको नेतृत्वमा बसेको सरोकारवालहरुको बैठकले चितवन तथा तराईका जिल्लाहरुबाट मकवानपुर प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । तर सबै निर्णयहरु कार्यान्वयन हुन नसक्दा नेपालमा कोरोनाको संक्रमण फैलने खतरा छ । तर यो निर्णय कार्यान्वयन हुनै पर्ने छ । नत्र मकवानपुर पनि कोरोनाको संक्रमणको चपेटामा पर्ने छ ।
समयमै सबैले होशियारी अपनाउनु आवश्यक छ । लकडाउन आफ्नै र परिवारको स्वास्थ्यका लागि हो भन्ने अझै बुझ्न र बुझाउनु सक्नृु पर्ने चुनौती देखिएको छ । आज गरेको सामान्य हेलचेक्र्याईले भोली कोरोनाले भयावह रुपम लिने खतरा छ । त्यसैले बन्दबन्दीको नियम र परिधि प्रति कुनै पनि अवस्थामा हेलचेक्र्याईँ नगरौं ।