गत वर्षको स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष चयन भएको एक वर्ष पूरा हुन लागेको छ । वडामा लगातार जनप्रतिनिधि निर्वाचित भएसँगै उल्लेख्य काम हुने अपेक्षा गरिएको छ । निर्वाचित भएको पहिलो वर्ष कस्तो रह्यो भन्ने सन्दर्भमा समृद्ध समाज दैनिकका संवाददाता बसन्त भण्डारीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जनसँग गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः वडा अध्यक्षको पदभार ग्रहण गरेको पहिलो वर्ष कस्तो रह्यो ?
महर्जनः हामी हाम्रा घोषणापत्रमा उल्लेख गरेका विषयहरुमा नै लक्षित गरी अघि बढिरहेका छौँ । वडामा रहेर हामीले वडाभित्र रहेका २० वटा टोल विकास संस्थासँग काम गरिसकेका छौँ भने थपेका एउटा नयाँ टोल विकाससँग काम गर्न बाँकी रहेको छ । पहिलो वर्षमै हामीले बजेट बनाउँदा तल्लो स्तरबाटै भिजाउँदै लग्ने उद्देश्यले टोल विकास संस्थाहरुलाई पनि राखेका थियौँ । सबै टोल विकास संस्थाका समस्याहरुलाई सम्बोधन गर्ने गरी नै हामीले बजेट ल्यायौँ । त्यसैअनुसार हामी पूर्वनिर्धारित योजनाहरुलाई करिब सबै योजनाहरुलाई सञ्चालनमा ल्याइसकेका छौँ । अड्केका केही कामहरुलाई हामीले टेन्डरमार्फत कार्यान्वयनमा ल्याइसकेका छौँ । हामीले वडामा सेवा लिन आउने सेवाग्राहीहरुलाई सुशासनको पालनासहित छिटो–छरितो र भरपर्दाे सेवा प्रदान गर्दै आइरहेका छौँ ।
समाजः तपाईले सपथ ग्रहण गर्दा लिनुभएका लक्ष्यहरु के कति पूरा भयो र अरु के हुँदैछ ?
महर्जनः सपथ ग्रहण गर्दा त त्यस्तो लक्ष्य हुँदैन । तर हामीले पाँच वर्षभित्र गर्ने काम र योजनाहरुलाई समेटेर एउटा घोषणापत्र बनाएका थियौँ । हामीले गर्ने भनेका योजनाहरु थुप्रै रहेका छन् । तीमध्ये हामीले पहिलो वर्षमा गर्छाैँ भनेका कामहरु लगभग सकिसकेको छ ।
समाजः वडा अध्यक्षको रुपमा पहिलो वर्षको कार्यकालमा के कस्तो सहजता वा असहजता आयो ?
महर्जनः वडा अध्यक्ष एउटा राजनीतिक पद भएकोले हामीले कतिपय विकास निर्माणका कामहरु गर्न खोज्दा पनि कतिपय बाधाहरु आइपरेको थियो । म पहिला नै नगरपालिकामा इन्जिनियरको रुपमा काम गरिसकेको हुनाले मैले थुप्रै राम्रा कामहरु गर्न खोज्दा कतै स्वार्थ बाझिने, कतै मानिसहरुले व्यक्तिगत स्वार्थलाई बढी जोड दिएका हुनाले सोचेअनुरुप काम गर्न चाहिँ अलि कठिन नै भयो ।
समाजः तपाईले आफ्नो निर्णय प्रक्रियामा वडाबासीहरुको प्रतिक्रियाहरुलाई कसरी समेट्नु भएको छ ?
महर्जनः वडाबासीहरुको माग, मुद्दा, समस्या र गुनासाहरु सम्बोधन गर्नका लागि हामीले टोल विकास संस्थाहरुलाई बेलाबेलामा बोलाएर उहाँहरुसँग सल्लाह लिन्छौँ र हामीले योजना बनाउँदा पनि उहाँहरुलाई पनि सँगै राखेर निर्णय गर्छाैँ । यसरी नै समेट्दै छौँ ।
समाजः अब आउने नयाँ बजेटमा तपाईको प्राथमिकताका विषयहरु के–के रहन्छन् ?
महर्जनः अब नयाँ बजेट असारमा आउँछ । त्यसलगत्तै हामी सबै टोल विकास संस्थाहरुलाई बोलाएर उहाँहरुलाई नै राखेर हामीले योजनाहरु बनाउनेछौँ । अगामी बजेटको लागि योजना धेरै छन् । तर म चाहिँ अहिले हेटौंडा उपमहानगरपालिकाको नगर पर्यटन विकास समितिको संयोजक भएकोले हाम्रो मुख्य प्राथमिकताको रुपमा नगर पर्यटन रहनेछ । महाभारत पार्क बनाउने, ५ नम्बर र २ नम्बर वडामा रहेका खोल्चामा वाल र २ मिटर फुटपाथ बनाउने जस्ता आन्तरिक पर्यटकलाई आकर्षण गर्ने खालका योजनाहरुमा जोड दिनेछौँ ।
समाजः तपाईसँगै निर्वाचित अधिकारीहरु र अन्य सामुदायिक नेताहरुसँग सम्बन्ध निर्माण गर्न कसरी काम गर्दै हुनुहुन्छ ?
महर्जनः हामी निर्वाचित प्रतिनिधिहरु छलफल गरी निर्णय गरेर नै अगाडि बढ्दै आएका छौँ । त्यसबाहेक अन्य दलका प्रतिनिधिहरुसँग हामीले गत वर्षको बजेट बनाउँदा त्यति सम्पर्क गर्न सकेनौँ । तर यसपालिको बजेट बनाउँदा सम्भवतः हामी सबै राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई राखेर उहाँहरुको माग, मुद्दाहरुलाई सम्बोधन गरी अघि बढ्ने योजना बनाएका छौँ ।