काष्ठ हस्तकलाको तालिममा सहभागी हुने प्रशिक्षार्थीहरु ।

हेटौंडाः बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोग तथा सामुदायिक विकास तथा सचेतना नेपालको आयोजनामा हेटौंडामा आधारभूत काष्ठ हस्तकला तालिम सुरु भएको छ । शनिबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले तालिमको उद्घाटन गर्नुभएको हो ।

सामुदायिक विकास तथा सचेतना नेपालले स्थानीय युवा तथा महिलाहरुमा काठको हस्तसीपको कलामा व्यवहारिक ज्ञान र सीप विकास गर्दै उद्यमशिलता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाकी कोषाध्यक्ष सरु अधिकारीले बताउनुभयो । तालिममा २० जना युवा तथा महिलाहरु सहभागी हुने उहाँले बताउनुभयो । तालिम आइतबारदेखि ६५ दिनसम्म पिप्ले–पोखरा सामुदायिक वन उपभोक्ता समुहको भवन चल्नेछ । संस्थाले तालिम पश्चात मकवानपुरको पहिचानको रुपमा रहेको काठको ठेकी निर्माण तालिम प्रदान गर्ने जनाएको छ । तालिममा सहभागी नवउद्यमीहरुका लागि उत्पादनलाई बजारीकरण गर्नका लागि सहयोग गर्ने कार्यक्रमहरु पनि यसै योजनामा रहेको जनाएको छ ।

उद्यमी समुहले निर्माण गरेको हस्तकला सामग्रीको ठुला डिजिटल मार्केटहरुसँग समन्वय गरी बजारीकरणमा सहयोग गर्ने, उत्पादित सामग्रीहरुलाई वन उपभोक्ता महासंघसँग समन्वय गरी काठको सामग्रीलाई सर्टीफाई गर्ने र ब्राण्डिङ गर्ने, उद्यम सञ्चालनका लागि विभिन्न बैंक र सहकारी संस्थाहरुसँग अन्तरक्रिया तथा समन्वय गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ । तालिमलाई पिप्ले–पोखरा सामुदायिक वन उपभोक्ता समुह र अस्मिता नेपालले समन्वय गरेको छ ।

संस्थाका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षमा भएको तालिम उद्घाटन कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, गैरसरकारी महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, हेटौंडा–५ का वडा सदस्यहरु ज्ञान बहादुर थापा, रामबहादुर राई, रन्जिता सिलवाल लगायतको उपस्थिति रहेको थियो ।