श्यामप्रसाद श्रेष्ठ

“बुढा ! हाम्रो एउटा छोरा अमेरिका, एउटा अष्ट्रेलिया, बुहारी पनि उतै, उतै नाति नातिनी जन्माए, उतै हुर्काए बढाए । हुन त हाम्रा सबै आवश्यकताहरु छोराहरुले उतैबाट पठाइदिएको छ । तर आज हामी दुबै १० दिनदेखि ओछ्यानमा परिरहेका छौं । हामीलाई अहिले एक घुट्को पानी खुवाउने पनि कोहि छैन । के भने जस्तो, “बाह्र छोरा तेह्र नाति बुढोको धोक्रो काँधै माथी भने जस्तो पो भो !”

“बुढी ! आज सिंगो देशनै युवा अनि बालबालिका बिहिन हुँदै गैरहेको छ । आज देश अशक्त बृद्धबृद्धाहरुको संग्रहालयको रुपमा रुपान्तरित हुँदै गइरहेको छ । यो हाम्रो मात्र समस्या होइन । यो देशको पनि समस्या हो । एकदिन त राज्यले हाम्रा छोराछोरीहरु बिदेश जानू नपर्ने गरी स्वदेशमा नै रोजगार मिलाउला नि । त्यसपछि अनि हामी छोराछोरीहरुसँगै बसौंला नि, हुन्न ?”
आफ्नो लोग्नेको यस्तो कुरा सुनेर मनमा अलि सान्त्वना मान्दै कान्छीमायाले भनिन्, “हुन्छ बुढा ! अनि अहिले तिमीलाई कस्तो छ ?”

“मेरो लास तिमीले कसरी उठाउँछौ होला भन्ने मात्र मलाई चिन्ता लागिरहेको छ ?”
लोग्नेको अनायास यस्तो जवाफले कान्छिमायालाई मुटुमा कसैले छुरी धसेको जस्तो लाग्यो । उनलाई असह्य पीडा भयो । आँखाबाट बलिन्द्रधारा अश्रु बह्यो ।

कान्छिमायाले अवरुद्ध भएको गलाले मध्यम स्वरमा जवाफ दिइन्, “बुढा ! मेरो लास जसले उठाउँछ, तिम्रो पनि उसैले उठाउँछ ।” यति भनी कान्छिमायाले हर्केलाई छुन हात पसार्यो। हर्केले पनि हात पसा¥यो । एक अर्काको हात दुबैले छुन धेरै प्रयास ग¥यो । तर सकेन । दुबैको सुक्दै गएको ओठ–मुखले एकै पटक भन्यो, “पानी” ।

दुबैले एक अर्कोलाई हेर्न टाउको घुमाए । चार आँखा भयो । दुबैले आनन्दले लामो सास फेर्दै एक अर्कोलाई आँखा झिमिक्क नै नगरी केवल टोलाई मात्र रह्यो ।

कस्तो सन्जोग ? हर्के र कान्छिमाया दुबैको सिरान छेउ रहेको दुबै मोबाइलमा एकै पटक घण्टी बज्यो । एउटा मोबाइलमा अमेरिका, अर्कोमा अष्ट्रेलिया भनी लेखिएको थियो । लगातार घण्टि निरुत्तर भै बजिनै रह्यो ।

हेटौंडा, चौघडा