जनता माध्यमिक विद्यालयको नवनियुक्त प्रधानाध्यापक यादवराज बराल ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयको प्रधानाध्यापक (प्रअ) मा यादवराज बराल नियुक्त हुनुभएको छ । नवनियुक्त प्रधानाध्यापक बरालको प्रमुख शैक्षिक एजेण्डा गुणस्तरीय शिक्षा सुनिश्चित गरी विद्यालयमा विद्यार्थीलाई टिकाउने रहेको बताउनुहुन्छ ।

विद्यालय व्यवस्थापन समितिको बुधबार बसेको बैठकबाट विद्यालयको प्रअमा नियुक्त हुनुभएका बरालले शिक्षण सिकाई सुधारलाई प्राथमिकता दिइने बताउनुभयो । विद्यालय भर्ना भएका सबै विद्यार्थीले एसईई दिने वातावरण नभएको उल्लेख गर्नुहुँदै ती सवै विद्यार्थीलाई सर्वप्रथम विद्यालयमा टिकाउन पहल गरिने बताउनुभयो । जसका लागि विद्यालयका सहकर्मी शिक्षक तथा कर्मचारी, विद्यार्थी र अभिभावकहरुको सहयोग लिइने उहाँको भनाइ छ ।

प्राविधिकधारतर्फ जेटिए (१८ महिने) विषय अध्ययनरत् विद्यार्थीलाई स्वरोजगार बनाउन पहल गरिने उहाँले बताउनुभयो । यस्तै आयआर्जन र दक्ष जनशाक्ति निर्माणका लागि पहल गरिने नवनियुक्त प्रअ बरालले जानकारी दिनुभयो । एक घण्टादेखि २ घण्टासम्म अझै विद्यार्थी हिँडेर विद्यालय आउनुपर्ने बाध्यतालाई हटाउन पहल गर्ने उहाँको भनाइ छ । टाढादेखि हिँडेर आउनुपर्ने कारणले पनि वर्षेनी विद्यार्थीले बीचैमा पढाइ छाड्ने गरेको उहाँ बताउनुहुन्छ ।

समस्या समाधानका लागि छात्राबासको निर्माण भइरहेको प्रअ बरालले जानकारी दिनुभएको छ । १८ वर्षको शिक्षण पेशाको अनुभवलाई प्रअको जिम्मेवारीका रुपमा वहन गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

“शिक्षण गरिरहँदा विषयगत तथा कक्षाकोठाको मात्र सीमित जिम्मेवारी हुन्छ । तर प्रअको जिम्मेवारी लिइसकेपछि सिंगो विद्यालय तथा सबै कक्षाकोठाका विषयगत पठनपाठनलाई हेर्नुपर्ने हुन्छ”, नवनियुक्त प्रअ बरालले भन्नुभयो, “सहकर्मी र विद्यार्थीका अप्ठ्यारालाई सम्बोधन हुने गरी कार्य गर्नेछु ।” सिन्धुली जिल्लाका स्थायी बसिन्दा बरालले २०६१ सालदेखि शिक्षण पेशा सुरु गर्नुभएको हो ।

निम्न माध्यमिक तहका अस्थायी शिक्षक हुँदै २०७४ सालमा निम्न माध्यमिक तहको स्थायी शिक्षक हुनुभएका बराल २०७६ सालमा माध्यमिक तहको स्थायी शिक्षक हुनुभयो । बराल माध्यमिक तृतीय श्रेणीको अंग्रेजी विषयको शिक्षक हुनुहुन्छ । गत वर्षदेखि जनता माध्यमिक विद्यालयमा अंग्रेजी विषय अध्यापन गर्न सुरु गर्नुभएको हो । विद्यालयको अध्यापन गर्न सुरु गरिएको एक वर्षपछि बराल प्रअमा नियुक्त हुनुभएको हो । यसअघिका प्रधानाध्यापक बसन्त राईले ३ महिनाअघि कार्य व्यस्तताले प्रअको जिम्मेवारीबाट राजिनामा दिनुभएको थियो । एक हप्ताअघि रार्र्ईको राजिनामा स्वीकृत भएपछि बराललाई प्रअमा नियुक्त गरिएको हो । जनता माध्यमिक विद्यालयमा करिव ९ सय जना विद्यार्थी अध्ययनरत छन् ।