हाम्रो हेटौंडा उपमहानगरपालिकालाई २०८० सालको मंसिर महिनासम्ममा बालमैत्री पालिका घोषणा गर्ने लक्ष्य तय भएसँगै वडाका टोलटोलमा र विद्यालयहरुमा बाल समुह गठनको अभियान चल्यो । हामीले पनि यसै वर्षको पुष १ गते हाम्रो विद्यालयमा २५ सदस्यीय “बालविद्या सत्पथ बाल समुह“ गठन गर्यौं । हाम्रो क्याप्टेन काउन्सिल नै बाल समुहमा परिणत भयो र केही नपुगेका सदस्य अझै थप गर्यौं ।
समुहको उपाध्यक्ष भै बालबालिकाहरुको हितमा काम गर्ने सुनौलो अवसर प्राप्त गरेँ । समुहको पहिलो बैठकमा १०० मिछर क्षेत्र वरिपरि कुनैपनि लागुपदार्थहरु बेचबिखन गर्न पाईँदैन, १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई धूम्रपान, मद्यपान आदि बेचबिखन गर्न पाईदैन, विद्यालय क्षेत्र वरिपरि सरसफाइ गर्नुपर्छ भन्ने प्रस्तावहरु राखी सोही प्रस्ताव माथि निर्णय गर्यौं । सोही आशयको सुचना विद्यालयको गेटमा टाँसी निर्णयको कार्यान्वयन गर्यौं । यसैबीच बालमैत्री वातावरण निर्माण गर्नको निम्ति आवश्यक जानकारी र तालिम लिन म र सचिव सुहाना खड्का श्री आधुनिक राष्ट्रिय माविमा २ दिने तालिममा सहभागी भै विशेषज्ञहरुबाट थप जानकारी हाँसिल गर्यौं ।
तालिमबाट फर्केर आएपछि हामीले सिकेका कुरालाई बालसमुहका अन्य सदस्यहरुलाई पनि जानकारी गरायौं । त्यसपछिको फागुन महिनाको बैठकमा हामीले विद्यालयमा १३ बर्ष उमेर समुह भन्दा माथिका छात्राहरुका लागि सेनिटरी प्याड उपलब्ध गराईदिन अनुरोध गर्ने निर्णय गर्यौं । लगतै १८ नम्बर वडा कार्यालयमा निवेदन पनि दियौं । वडा अध्यक्ष अनिलकुमार बानियाँज्यूले यथाशक्य हामीलाई सेनिटरी प्याड उपलब्ध गराउने बताउनुभएको छ ।
बालबालिकाहरुलाई कुनैपनि दुव्र्यसनी तथा निकृष्ट बालश्रम जस्ता जघन्य अपराधबाट टाढा राख्न घर परिवार, समुदाय र समाजको कस्तो भूमिका रहन्छ भन्ने विषयमा अभिभावक तथा समाजका सदस्यहरुको सुझाव तथा राय लिनको लागि टोलटोलमा गई जनचेतना फैलाउँदै वहाँहरुको भनाईलाई पनि मध्यनजर गर्दै टिपोट गर्ने निर्णय गर्यौं । यसका लागि हाम्रो बालसमुहले विद्यालयको सहयोगमा २०७९ चैत्र २४, २५ र २६ गते “बालमैत्री स्थानीय शासन स्थापनार्थ जनचेतनामूलक घरदैलो अभियान” संचालन गर्यौं । फ्ल्यास कार्डमा बालबालिकासँग सम्बन्धित केही प्रतिनिधि प्रश्नहरु तयार गरी हामी अभिभावकहरुको घरदैलोमा पुग्यौं ।
यो मेरा लागि अत्यन्तै नौलो अनुभव थियो । यही क्रममा मसहित अन्य सदस्यहरुले विभिन्न उमेर समुहका मानिसहरुसँग अन्तरक्रिया गरेका थियौं । सोही क्रममा बालमैत्री वातावरण भनेको केहो भन्ने विषयमा वहाँहरुको विभिन्न सोचाई रहेको थाहा पाएँ । धेरैकुरा हामीले सिकायौं । बालमैत्री शासनको स्थापनामा प्रायःको सकारात्मक सोच रहेको पाएँ । हामीले बाल अधिकारको कुरा गर्दा आफ्नो कर्तव्य पनि बोध गर्नुपर्ने कुरा वहाँहरुले सुझाव दिनुभयो । जसले गर्दा बालबालिकाहरुप्रति सबैको सकारात्मक धारणा बन्न सक्दछ ।
विद्यालय सँगसँगै वडा नम्बर १८ लाई पनि बालमैत्री बनाउनका लागि वडास्तरीय बाल समुह सञ्जाल पनि गठन गरिएको छ । यहाँ पनि म उपाध्यक्ष पदमा छनौट भएकी छु । यसका लागि म सबैलाई आभार व्यक्त गर्दै विद्यालय सँगसँगै वडालाई पनि बालमैत्री बनाउन म मेरो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
बालविद्या सत्पथ बाल समुहको उपाध्यक्ष भै अनुभव संगाल्दै गर्दा अध्यक्ष कुसुम खड्का पश्चात निकट भविष्यमा प्राप्त हुने अध्यक्षको भूमिकामा समेत आफ्नो जिम्मेवारीवहन गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ । हामीलाई निरन्तर सिकाईमा सहभागी गराउनुहुने प्रधानाध्यापक सुदिप सर, संरक्षक शिक्षक ननिता दंगाल थापा लगायत समुहकी अध्यक्ष कुसुम दिदी, सबै बालसमुहका सदस्यप्रति हार्दिक आभार प्रकट गर्दछु ।