गोरक्षनाथ माविमा स्टाफ नर्स शितल अमगाईँलाई स्वागत गरिँदै ।

हेटौंडाः हेटौंडा–१८, फुर्केचौरस्थित गोरक्षनाथ माविमा स्टाफ नर्सलाई स्वागत गरिएको छ । बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत करारमा नियुक्त गरेको स्टाफ नर्स यो वर्ष हेटौंडा उपमहानगरका दुईवटा विद्यालयले प्राप्त गरेको छ । हेटौंडा–१८ स्थित गोरक्षनाथ मावि र ज्योति माविले स्टाफ नर्स प्राप्त गरेको हो ।

गोरक्षनाथ माविमा स्टाफ नर्स शितल अमगाईँलाई विद्यालय परिवारले बुधबार स्वागत गरेको छ । यस्तै ज्योति माविमा स्टाफ नर्स सुजना भट्टराई नियुक्त हुनुभएको छ । विद्यालयलाई प्राप्त भएको स्टाफ नर्सबाट विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण सेवा गराउनुका साथै विद्यार्थीमा स्वास्थ्य सचेतना, स्वस्थ बानी–व्यवहार, अभिभावक समेतलाई स्वास्थ्य सचेतना अभिवृद्धि गराउन सकिने प्रधानाध्यापक होम बहादुर नेपालीको भनाइ छ ।

चालु शैक्षिकसत्रको नियमित पठनपाठन सुरु भइसकेको र विद्यालयमा ३ सय १७ जना विद्यार्थी भर्ना भइसकेको प्रधानाध्यापक नेपालीले बताउनुभएको छ । चालु शैक्षिकसत्रमा विद्यार्थी संख्या ३ सय ५० पुर्याउने लक्ष्य रहेको प्रधानाध्यापक नेपालीले जानकारी दिनुभएको छ ।