आज मे ३ (वैशाख २०) का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९३ मा मे ३ लाई प्रेस स्वतन्त्रता दिवस घोषणा गरेपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । नेपालमा भने सन् १९९७ देखि विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । नेपाल पत्रकार महासंघको आह्वानमा देशभर यो दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुले महत्वपूर्ण दिनका रुपमा लिएर संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदैछ ।

यो वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसका लागि युनेस्कोले “भविष्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता” भन्ने नारा तय गरेको छ । अरुको अधिकार र स्वतन्त्रताको लागि आवाज उठाउने पत्रकारहरु आफैं स्वतन्त्र छैनन् । जबसम्म आफू स्वतन्त्र भइँदैन, तबसम्म अरुको स्वतन्त्रताको लागि केही गर्न सकिँदैन । यसैले पत्रकारिता क्षेत्रका लागि प्रेस स्वतन्त्रता दिवसको महत्व उच्च रहेको छ । राज्यको चौथो अङ्गको उपमा पाएको पत्रकारिता क्षेत्र जोखिमपूर्ण नै छ । अभिव्यक्ति स्वतन्त्रताबाट नै मानव अधिकारको उपयोग गर्न सकिन्छ भन्ने भावलाई यसवर्षको प्रेस स्वतन्त्रता दिवसको नाराले उजागर गर्न खोजेको छ । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकार प्राप्तिका लागि नागरिकलाई सुसूचित गर्न पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण हुने गर्दछ । नेपालमा सन् २०२२ को मे ३ देखि २०२३ को अप्रिल २६ सम्म प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएका छन् । यसबाट ९३ जना पत्रकार र ८ सञ्चार संस्था गरी १०१ पीडित भएका छन् । पत्रकार महासंघको सञ्चार अनुगमन एकाइको तथ्यांकअनुसार पछिल्लो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका २ घटना भएका छन् । कब्जा अवरोधका ७, दुव्र्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा घटना भएका छन् । यस्तै लैङ्गिक हिंसाका २, विस्थापन १ र पेशागत असुरक्षाका ५५ वटा घटना भएका छन् । गतवर्ष यही अवधिमा ७५ वटा घटनाहरु अभिलेख भएका थिए ।

राणा शासनकालदेखि नै पत्रकारिता क्षेत्र र पत्रकारहरु उपेक्षित बन्दै आएका छन् । पञ्चायती शासनकालमा मात्र नभई बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थामा पनि पत्रकारहरुले पूर्णरुपमा प्रेस स्वतन्त्रता पाएका थिएनन् । अहिले संघीय गणतान्त्रिक शासन व्यवस्थामा पनि पत्रकारहरु असुरक्षित बनिरहेका छन् । प्रेस स्वतन्त्रतालाई संवैधानिक र कानुनीरुपमा ग्यारेन्टी गरिएको भए पनि प्रेसमाथि राज्य तथा गैरराज्य पक्षको प्रहार भई नै रहेको छ । पत्रकारहरुलाई डर, त्रास, धम्की, प्रलोभन देखाएर आफ्नो पक्षमा समाचार तयार पार्न लगाउने परिपाटी कायमै छ । इन्टरनेट तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका घटनाहरु पनि बढ्दै गएका छन् ।

संविधानले ग्यारेन्टी गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र नागरिकहरुको सुसूचित हुन पाउने हकलाई व्यवहारिक बनाउन प्रेस स्वतन्त्रता अत्यावश्यक छ । संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको भए पनि व्यवहारमा त्यसअनुरुप वातावरण बन्न सकेको छैन । श्रमजीवी पत्रकार ऐन २०५१ का व्यवस्थाहरु अझसम्म पूर्णरुपमा लागू हुन सकेको छैन । अधिकांश पत्रकारहरु न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन् । यसकारण प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ उचाईमा पु¥याउन महासंघ तथा प्रेस स्वतन्त्रताका पक्षधरहरु एक ठाउँमा उभिन जरुरी छ । प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार संस्थाका साथै पत्रकारहरुको हकहितका लागि गठित संघसंस्थाले खबरदारी गर्नु आवश्यक छ ।