विष्णुकुमारी श्रेष्ठ मेडिकल अधिकृत, हेटौंडा अस्पताल

हेटौंडाः आज मे महिनाको १२ तारेख, अर्थात फ्लोन्स नाइटिङ्गेलको जन्मदिन । स्वास्थ्य सेवामा महत्वपूर्ण सेवा प्रदान गरेकी नाइटिङ्गेलको जन्मदिनका दिन विश्व नर्स दिवस मनाइने गरिएको छ । सन् १८२० को मे १२ तारेखमा फ्रान्सबाट नर्स दिवस मनाउन सुरु गरिएको हो । विश्व नर्स दिवसको अवसरमा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइने गरिएको छ । यस वर्ष भने लकडाउनका कारण मकवानपुर जिल्लाका नर्सहरुले हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई सहयोग गरेर विश्व नर्स दिवस मनाउँदै छन् ।

स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नर्सहरुलाई उचित सेवा, सुविधा प्राप्त हुन नसकेको हेटौंडा अस्पतालकी नर्सिङ अधिकृत विष्णुकुमारी श्रेष्ठले बताउनुभयो । नर्स दिवसको अवसरमा समृद्ध समाजसँग कुरा गर्नुहुँदै नर्सिङ अधिकृत श्रेष्ठले हेटौंडा अस्पतालमा सेवाग्राही र उपलब्ध सैय्याको संख्याका आधारमा नर्सिङ कर्मचारी पर्याप्त नभएको बताउनुभयो । यस्तै सरकारी दरबन्दी र अस्पताल विकास समितिमार्फत नियुक्त भएका नर्सहरुबीच हुने सेवा, सुविधामा भएको असमानता पनि उचित नभएको उहाँको भनाइ छ । हेटौंडा अस्पतालमा अहिले सरकारी दरबन्दी र विकास समितिमार्फत नियुक्त भएका कुल ३९ जना नर्सहरु कार्यरत छन् ।