हेटौंडाः स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरबाट १३४ जना सेवाग्राही लाभान्वीत भएका छन् । मंगलबार जागरण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रविधिक सहयोग र नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुरगढी गाउँपालिकाको समन्वयमा मक्राञ्चुलीमा शिविर भएको हो ।
सहकारीको २५ औं स्थापना दिवसको अवसरमा शिविरको आयोजना गरिएको संस्थाका अध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । शिविरमा स्वास्थ्य परीक्षण गराएका १३४ जनामा कसैमा पनि पाठेघरको क्यान्सर नदेखिएको श्रेष्ठले जानकारी दिनुभयो । परीक्षण गराएकामध्ये पहिलो चरणमा आङ खस्ने ७ जना देखिएको उहाँको भनाई छ ।
यस्तै, दोस्रो चरणमा आङ खस्ने २ जना र तेस्रो चरणमा आङ खस्ने २ जना देखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । तेस्रो चरणमा आङ खस्ने महिला २ जनालाई शिविरमै चुरन राखेर पठाइएको श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणबाट ४ जनामा पोलिप संक्रमण, एक्साइ ट्रिस २ जनामा, लिजन २ जनामा, संक्रमित पानी बगेको २ जना, टच विलिङ्ग १० जना र पाठेघर मुखमा संक्रमित रहेको १० जना देखिएको छ ।
मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामाको प्रमुख आतिथ्य तथा सहकारी अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरे, ४ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव लामिछाने र शहीद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई प्रमुख लक्ष्मण दाहालको आतिथ्य रहेको थियो ।