तस्बिरः गुगल ।


हेटौंडाः दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि मकवानपुरको पुरुष क्रिकेट टिम छनौट सुरु भएको छ । मंगलबारबाट जिल्ला खेलकुद विकास समिति मकवानपुरले पुरुष क्रिकेट खेलाडी छनौट सुरु गरेको हो ।

छनौट चरणमा २४ खेलाडीहरु सहभागी छन् । मंगलबारबाट ३ दिन टी–२० खेल आयोजना हुनेछ । उक्त खेलबाट १८ जना खेलाडी छनौट हुनेछन् । छनौट भएको १८ जनालाई बागमती प्रदेश खेलकुद विकास परिषद्ले बन्द प्रशिक्षणमा राख्नेछ । बन्द प्रशिक्षणपश्चात् अन्तिम १४ छनौट गरिनेछ ।

अहिले छनौट चरणमा सहभागीमध्ये अधिकांश पहिलो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरु रहेका छन् । मकवानपुरको क्रिकेट टिम पहिलो संस्करणको विजेतासमेत हो । मकवानपुरले फाइनलमा धादिङलाई २१ रनले हराउँदै च्याम्पियन बनेको थियो ।

मकवानपुर क्रिकेट टिमका कप्तान सुमन सुनारले यसपटक पनि च्याम्पियन हुने गरी आफूहरुले तयारी गरिरहेको बताउनुभयो । छनौट चरणमा नियमित खेलिरहेका सिनियर खेलाडीहरु सहभागी भएकाले टिम बलियो हुने उहाँले बताउनुभयो । नियमित खेल खेल्दा आफ्नो कमीकमजोरीलाई सुधार्ने अवसर पाउने र बन्द प्रशिक्षणमा सहभागीपछि म्याच कसरी खेल्ने भन्ने अनुभव हुने कप्तान सुनारले बताउनुभयो ।

यस्तै, मकवानपुरलाई गत संस्करणमा पुरुष क्रिकेट टिमलाई उपाधि दिलाउन सफल मकवानपुर क्रिकेट टिमका निवर्तमान कप्तान रामनरेश गिरीले बलियो टिम बनाउन संघ र सबै सरोकारवाला निकायको सपोर्ट हुनुपर्ने बताउनुभयो । देशमा अहिले क्रिकेटप्रति एउटा उत्साह छाएकाले क्रिकेट खेलाडी उत्पादनमा सबैले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

गिरीले अहिले मकवानपुरमा क्रिकेट खेल्न र प्रशिक्षण गर्न व्यवस्थित मैदान नहुँदा राम्रोसँग प्रशिक्षण गर्न नपाइरहेको बताउनुभयो । अहिले हुप्रचौरमा दैनिक प्रशिक्षण गर्ने र कहिलेकाहीँ मैत्रीपूर्ण खेलहरु खेल्दा खुलारुपमा खेल्न नपाइरहेको गिरीले बताउनुभयो । मकवानपुरमा क्रिकेटका प्रतियोगिता नहुँदा अहिले खेलिरहेका खेलाडीहरुमा निराशा रहेको उहाँको भनाई छ ।

मकवानपुरमा नयाँ पुस्ताका क्रिकेट खेलाडीहरु उत्पादन नहुनुमा प्रतियोगिता नहुनु र सरोकारवालाको चासो कम रहेको गिरीको भनाई छ । गिरीले मकवानपुरको क्रिकेट टिमका लागि स्पोन्सरको पनि समस्या रहेको बताउनुभयो । निवर्तमान कप्तान गिरीले मकवानपुरलाई आठौं संस्करणको राष्ट्रिय प्रतियोगितामा च्याम्पियन, पहिलो संस्करणको बागमती खेलकुद प्रतियोगितामा च्याम्पियन र जिल्ला छनौटमा मकवानपुरलाई विजयी गराउन सफल भएको थियो । यी ठूला प्रतियोगिताहरुमा सफलता दिलाए पनि क्रिकेट खेलाडीलाई हौसला दिने खालको कार्यक्रमहरु नभएको गिरीको भनाई छ ।