आगलागी नियन्त्रणको प्रभावकारी माध्यम हो, दमकल (वारुणयन्त्र) । विशेषगरी सडक यातायातको सुविधा भएको क्षेत्रमा आगलागी नियन्त्रण गर्न दमकलले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । दमकलको आवश्यकता घना बस्ती तथा ठूला शहरहरुमा अपरिहार्य मानिन्छ । विमानस्थल, पेट्रोलियम भण्डारणगृह, ठूला कलकारखाना तथा औद्योगिक क्षेत्रलगायतमा पनि दमकल अत्यावश्यक हुन्छ । विशेषगरी फागुन महिना सुरु भएपछि दमकलको व्यस्तता पनि बढ्ने गर्दछ । सुख्खा मौसम सुरु हुने र गर्मी बढ्दै जाने भएकाले वन डढेलो तथा आगलागीका घटना बढी हुने भएकाले यस समयमा दमकलको व्यस्तता बढ्ने गर्दछ । यस वर्ष हिउँदे वर्षा राम्रो नभएकाले डढेलो तथा आगलागीको घटना पनि बढेको छ । शनिबार मकवानपुरको इन्द्रसरोवर र बकैयामा आगलागी हुँदा मानिस घाइते हुनुका साथै, चौपाय तथा गोठ जलेर नष्ट भएको छ । बकैयामा सामुदायिक वनमा लागेको डढेलो फैलिएर गोठमा आगलागी भएको थियो । मंगलबारमात्रै बागमती प्रदेशको नुवाकोट, चितवन, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न ठाउँमा आगलागी हुँदा करिब ३६ लाख रुपैयाँ बजारबरको क्षति भएको थियो ।

वन डढेलो र आगलागीका घटना जति धेरै हुन्छ, त्यसबाट जनधनको क्षति पनि उत्तिकै हुन्छ । आगलागीका घटना बढ्दै जाँदा दमकलको व्यस्तता पनि बढ्दछ । आगलागी नियन्त्रणका लागि सबैतिर दमकलको उपलब्धता नहुँदा भएका सिमित दमकलहरुको व्यस्तता बढ्ने गर्दछ । यस वर्ष पनि चैत महिनामा हेटौंडा उपमहानगरपालिकाको दमकलको व्यस्तता निकै बढेको छ । सुख्खा मौसम र बढ्दो गर्मीका कारण आगलागीका घटना बढेपछि दमकलको व्यस्तता बढेको हो । चैत महिनामा उपमहानगरपालिकाको वारुणयन्त्रले दैनिकजस्तै विभिन्न ठाउँमा आगलागी नियन्त्रणमा व्यस्त भएको थियो । चैत महिनामा ३८ ठाउँमा वारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको छ । २०७९ सालमा हेटौंडा उपमहानगरपालिकाको दमकलले एक सय ५७ ठाउँमा आगलागी नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिकासँग दुईवटा दमकल रहेको भए पनि जिल्लाका अन्य स्थानीय तहहरुमा दमकल नहुँदा कतिपय अवस्थामा भ्याइनभ्याई हुने गरेको छ । एकैपटक धेरैतिर आगलागी हुँदा दमकल व्यवस्थापन गर्न कठिनाई हुने भएपछि उपमहानगरले एउटा दमकल थप गर्ने प्रक्रिया अघि बढाएको छ । भएका दमकल पुरानो र कम क्षमताको रहेका कारण आगलागी नियन्त्रणमा प्रभावकारी काम गर्न कठिनाई भइरहेको अवस्थामा उपमहानगरपालिकाले दमकल थप गर्न खोज्नु सकारात्मक मान्नुपर्छ । हेटौंडामा जनघनत्व बढ्दै गएको र आगलागीको जोखिम बढी हुने भएकाले दमकल थप भएमा आगलागी नियन्त्रणमा सहजता हुने आशा गर्न सकिन्छ । पछिल्लो समय गाउँघरमा सडक यातायातको सुविधा विस्तार हुँदै गरेको र स्थानीय तहहरुमा पर्याप्त बजेट व्यवस्था हुँदै गरेको अवस्थामा जिल्लाका अन्य पालिकाहरुले पनि दमकलको व्यवस्था गर्नु आवश्यक देखिएको छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार ५० हजार जनसंख्या बराबर एउटा दमकल आवश्यक पर्छ । जनसंख्याको आधारमा हेटौंडा उपमहानगरपालिकामा ४ वटा दमकल र मकवानपुर जिल्लाभित्र १० वटा दमकल आवश्यक देखिन्छ । मकवानपुरमा वन क्षेत्र धेरै रहेका कारण सुख्खा मौसममा डढेलोसँगै आगलागीको जोखिम बढी हुने गर्दछ । यस्तै, शहरबजारदेखि गाउँघरसम्म विद्युतीय उपकरणहरुका साथै खाना पकाउने एलपी ग्यासको बढ्दो प्रयोगले आगलागीको सम्भावना बढाएको छ । यसकारण प्रत्येक गाउँ–शहरमा दमकलको उचित व्यवस्था गर्न ढिला गर्नु हुँदैन । मकवानपुरका सबै गाउँपालिकाले पनि कम्तीमा एउटा दमकलको व्यवस्थापन गर्नु उचित हुनेछ । सानातिना आगलागी पालिकाकै दमकलले निभाउने र ठूला आगलागीका घटनामा नजिकका पालिकाले सघाउने हो भने आगलागीबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्दछ ।