गुगल तस्विर ।

हेटौंडाः शुक्रबार चितवन र काभ्रेमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने सिन्धुलीमा एकजनाको खोल्सीमा डुबेर मृत्यु भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० चौबिसकोठीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–९ बसन्तचोकका ६८ वर्षीय महेन्द्र प्रसाद पौडेल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

शुक्रबार बिहान ९ बजेर ३० मिनेटको समयमा हाकिमचोकबाट चौबिसकोठी आउँदै गरेको बा २ क ८३४९ नम्बरको मिक्सचरले बाटो क्रस गर्न लागेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा पौडेल गम्भिर घाईते भएका थिए । घाईते पौडेललाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा बिहान ९ बजेर ३५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मिक्सचर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, काभ्रे जिल्लाको बनेपा नगरपालिका–६, बुडोलडाँडामा सवारी दुर्घटना हुँदा एकजना वृद्धको मृत्यु भएको छ भने एक बालक घाईते भएका छन् । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७२ वर्षीय मिश्रदेव थपलिया रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । शुक्रबार साँझ ६ बजेर २० मिनेटको समयमा धुलिखेलबाट बनेपा आउँदै गरेको बा प्र ०२–०३० प ३३११ नम्बरको मोटरसाइकलले पैदलयात्री मिश्रदेव थपलिया र उहाँको २ वर्षीय नाती कृष्ण मोहन थपलियालाई ठक्कर दिँदा गम्भिर घाईते भएका थिए । घाईते दुवै जनालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ८ बजेको समयमा मिश्रदेव थपलियाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालककृष्ण मोहनको उपचार भइरहेको छ । मोटरसाइकल नियन्त्रणमा लिइएको चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।