खेलाडी सम्मानपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौडाः बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई मकवानपुर जिल्ला खेलकुद समितिले सम्मान गरेको छ । शनिबार बिहान एक कार्यक्रमको आयोजना गरेर खेलकुद विकास समितिले सम्मान गरेको हो ।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी खेलाडीमध्ये ११ जनाले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन् । प्रदेशस्तरीय छनोटमा मकवानपुर जिल्लाका खेलाडीले ६ वटा स्वर्ण पदक, ४ वटा रजत पदक र ६ वटा कास्य पदक गरी १६ वटा पदक हासिल गर्दै प्रतियोगितामा तेस्रो भएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यमा खेलाडी सम्मान कार्यक्रम भएको हो । नगर प्रमुख लामाले खेलाडीहरु अनुशासित र मर्यादित हुनुपर्ने सुझाव दिनुभयो । उहाँले खेलाडीको सुरक्षामा पनि जोड दिन खेलकुद विकास समितिलाई आग्रह गर्नुभयो । त्यस्तै उहाँले मकवानपुरमा बन्दै गरेको रंगशाला तीव्र गतिमा अघि बढाउन जोड दिनुपर्ने बताउनुभयो ।

मकवानपुरबाट एथ्लेटिक्सबाट दिना गोपाली (दौड), आयुष नेगी (दौड), सुमन योञ्जन (ज्यावलिन थ्रो) र सुजन राई (दौड) गरी ४ जना चयन भएका छन् । यस्तै कवड्डी महिलामा निशवला बिष्ट र पुरुषमा निश्चल तामाङले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएका छन् भने भलिबलमा श्रेशा लोप्चन, सबिन छुमी र पुजन गुरुङ चयन भएका छन् । तेक्वान्दोमा कबिन राई र सोनिमा श्रेठ गरी दुईजना चयन भएका छन् ।

खेलाडी सम्मान कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले राष्ट्रपति रनिङ सिल्डको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने बागमती प्रदेशको टिमलाई बन्दप्रशिक्षणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । आइतबारदेखि ५ दिनका लागि काडमाडौंमा बन्दप्रशिक्षणको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । बागमती प्रदेशबाट १ सय ११ जना खेलाडी सहभागी हुने भण्डारीले जानकारी दिनुभयो । खेलकुद विकास समितिका अध्यक्ष वेश खड्गीले सबैको साथ र सहयोगमा जिल्लाले बन्दप्रशिक्षणको व्यवस्था मिलाएको र त्यसको सकारात्मक नतीजा पनि हासिल भएको बताउनुभयो ।