हेटौंडाः मकवानपुरको भीमफेदी–१ स्थित त्रिखण्डी मन्दिर नजिक बस दुुघर्टना हुँदा दुई जना घाइते भएको छ । शनिबार बिहान १० बजेर ४० मिनेटको समयमा हेटांैडा–भैंसे सडकखण्डमा थारु समाज चन्द्रपुर रौतहटबाट त्रिखण्डीमा पिकनिकको लागि आएको ग १ ख ६१०७ नम्बरको बस यात्रु झारी घुमाउने क्रममा आफै अनियन्त्रित भई पुलबाट १० मिटर तल खोल्सामा खस्दा दुई जना घाइते भएको हो ।
घाइते हुनेमा बस चालक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का ३५ वर्षीय अजय चौधरी र बसमा सवार सोही ठाउँका ६५ वर्षीय चन्देश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो । दुर्घटना हुँदा बस चालक चौधरीको भित्री शरिरमा चोट लागेको र बसमा सवार चौधरीको खुट्टामा सामान्य चोट लागेको जनाएको छ । घाइते दुवै जनाको हेटौंडामा अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी चौकी भंैसेबाट प्रहरी सहायक निरीक्षक विसुन चौधरीको कमाण्डमा टोली खटिएको थियो ।