हेटौंडाः २८ औं वन्यजन्तु सप्ताह सुरु भएको छ । बैशाख १ गतेदेखि ७ गतेसम्म वन्यजन्तु सप्ताह मनाइन्छ । हेटौंडामा वन विज्ञान विषय अध्ययनरत विद्यार्थीहरुको समूहले वन सप्ताहको अवसरमा विविध कार्यक्रमको आयोजना गरेका छन् । पहिलो दिन शुक्रबार वन विज्ञान क्याम्पस परिसरको सरसफाई गर्नुका साथै डस्टविन राखिएको छ भने दोस्रो दिन आइतबार हेटौंडा बजारक्षेत्रमा सचेतनामूलक र्याली निकालिएको छ ।


शुक्रबार विद्यार्थीले र्यालीसँगै मार्चपास समेत गरेका छन् । हेटौंडाको बुद्धचोकमा विद्यार्थीले वन तथा वन्यजन्तुको संरक्षणमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मार्चपास गरेका हुन् । “समन्वय, सहकार्य र सहअस्तित्वः वन्यजन्तु संरक्षण हाम्रो साझा दायित्व” भन्ने मूल नाराका साथ यस वर्षको वन्यजन्तु सप्ताह मनाइँदै छ । पछिल्लो समय नेपालमा लोपोन्मुख वन्यजन्तुको संरक्षणमा उल्लेखनीय प्रगतिसँगै वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढेको छ । वन्यजन्तुको संरक्षणमा भएको उपलब्धीसँगै मानवीय क्षति बढ्दै गर्दा संरक्षणकर्मीलाई दोहोरो मार परेको छ ।


वन्यजन्तु सप्ताहकै अवसरमा विद्यार्थीहरुले कर्रा खोला सरसफाई तथा सरोकारवालाबीच नदिनाला सरसफाईसम्बन्धी अन्तरक्रियाको आयोजना गरेको छ । यस्तै संरक्षणसम्बन्धी सचेतनामूलक आर्ट, डँढेलो नियन्त्रणसम्बन्धी अभिमुखीकरण, साना प्रजातिका वन्यजन्तुको संरक्षण, चरा संरक्षणको विषयमा पनि अभिमुखीकरणका कार्यक्रम रहेको बताइएको छ ।