मकवानपुर जिल्ला खेलकुदका लागि उर्वर क्षेत्र हो । पूर्वाधार, कार्ययोजना, बजेट, बलियो संस्थागत संरचनाको अभावका बीच पनि खेल क्षेत्रमा राष्ट्रियस्तरका खेलाडी तयार पार्न मकवानपुर सफल रहँदै आएको छ । खेलप्रति समग्र राष्ट्रिय प्रयत्न नै कमजोर भइरहँदा मकवानपुर जिल्लामा मात्रै सकारात्मक प्रयासको अपेक्षा गरिनु जायज नहोला । खेल पूर्वाधार, खेलतालिका, खेलाडी, प्रशिक्षकको व्यावसायिक जीवनको अनिश्चितताले पछिल्लो समय खेलाडी पलायन तीव्र बनेको छ । नेपालमा केही खेलकुद प्रतियोगिताहरु औपचारिकताका लागि मात्रै आयोेजना गरिन्छन् भन्दा अतियुक्ति नहोला । यस्तै मध्येको एक खेल हो विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता । हरेक वर्ष पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गरिन्छ । प्रतियोगिता आयोजना गर्ने क्रममा आवश्यक तयारी, प्रतियोगिताको प्रभावकारी व्यवस्थापन र उपलब्धीका विषयमा कुनै ठोस् विश्लेषण बिना नै नियमित औपचारिकतामा सीमित छ ।

केन्द्रबाटै ठोस् प्रयास नहुँदा मूलतः जिल्ला तहमा समस्या जटिल देखिन्छ । हरेक वर्ष आयोजना हुने राष्ट्रपति रनिङ सिल्ड खेलकुदका लागि यो वर्ष मकवानपुर जिल्लाले एउटा प्रशंसनीय प्रयास गरेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको अग्रसरतामा पालिकाहरुको आर्थिक सहयोगमा निजी क्षेत्रबाट समेत सहयोग लिएर प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने जिल्लाका खेलाडीलाई बन्दप्रशिक्षणको व्यवस्था मिलाइएको छ । ५ दिनको बन्दप्रशिक्षणपछि शनिबार मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेलाडी तथा खेल पदाधिकारीलाई विदाई समेत गरेको छ । भोलि सोमबारदेखि बुधबारसम्म काठमाडौंमा हुने प्रदेशस्तरीय प्रतियोगिताको नतीजाले बन्दप्रशिक्षणको उपलब्धीको विश्लेषण गर्ने अवसर रहला । पहिलो पटक व्यवस्थापन गरिएको बन्दप्रशिक्षणको उपलब्धी खेलाडीले हासिल गर्ने पदकमा देखिएला, नदेखिएला त्यो एउटा पाटो रहनेछ । तर, पहिलो पटक बन्दप्रशिक्षणको प्रयास नै उपलब्धी हो ।

मकवानपुर जिल्लामा खेल पूर्वाधारहरुको अभावका बाबजुद स्थानीय सरकार र स्थानीय समुदायकै प्रयासमा केही प्रगति समेत भएको छ । सोही क्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिको पहल र सरोकारवाला निकायको साथ र सहयोग पनि उत्तिकै प्रशंसनीय छ । खेल क्षेत्रको विकासमा केन्द्र सरकारले देखाएको उदासिनतालाई अब प्रदेश र स्थानीय सरकारहरुले यस्तै प्रशंसनीय कार्य गरेर आशा गर्ने आधारहरु तयार पार्दै जानुपर्छ । मकवानपुरमा जिल्ला समन्वय समितिले पनि खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छ । जसका कारण पालिकास्तरीय प्रतियोेगिता समेत भइरहेका छन् भने पालिकालाई खेल क्षेत्रमा ध्यान दिन समन्वय समितले पहल गरिरहेको छ । अब समन्वय समितिले सबै पालिकालाई खेल क्षेत्रको गुरुयोजना बनाएर पूर्वाधार विकास, खेलकुद गतिविधिको आयोजना र खेलाडीलाई नियमित प्रशिक्षणको वातावरण बनाउन पनि आवश्यक सहजीकरण र समन्वयको काम गर्नुपर्छ । यसमा जिल्ला समन्वय समितिलाई प्राविधिक रुपमा साथ दिन जिल्ला खेलकुद विकास समिति तयार रहनुपर्छ । आशा गरौं जिल्ला खेलकुद विकास समितिको यस पटकको प्रशंसनीय प्रयासले आशा लाग्दो नतीजा पनि हासिल गरोस् । आगामी दिनमा अझ व्यवस्थित रुपमा खेल क्षेत्रका क्रियाकलाप गरेर मकवानपुर जिल्लाले अन्य जिल्लालाई पनि सिकाउँदै समग्र राष्ट्रिय योजनामा सकारात्मक परिवर्तन होस् । जसको श्रेय मकवानपुर जिल्लाले पाउन सकोस् ।