हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, मार्खुमा अस्थायी प्रहरी चौकी उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी र मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले चौकीको संयुक्तरुपमा उद्घाटन गर्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।
स्थानीयको माग र प्रमुख जिल्ला अधिकारीको सहकार्यमा चौकी स्थापना भएको हो । चौकीको लागि गाउँपालिकाले भवनको भाडा व्यवस्थापन गर्ने कार्कीले बताउनुभयो । उक्त चौकीमा ५ जना सुरक्षाकर्मी खटाइएको छ । मकवानपुरमा १५ वटा अस्थायी चौकी रहेको छ । जिल्लामा ७ सय ७७ जना प्रहरीको दरबन्दी रहेकोमा मकवानपुरका जनसंख्याअनुसार प्रहरीको दरबन्दी थोरै भएको कार्कीको भनाई छ । अस्थायी चौकीमा १० जनाको संख्यामा प्रहरी खटाउनुपर्ने र मकवानपुरमा अझै १ सय ५० जना थप प्रहरी आवश्यक रहेको कार्कीले बताउनुभयो ।
उद्घाटनमा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक अनिल कार्की, नेपाली सेना सुपारेटार ब्यारेकका प्रमुख सेनानी गोविन्दराज घिमिरेलगायतका जनप्रतिनिधिको उपस्थिति थियोे ।